१५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, पत्रकार दिनेश जोशी सम्मानित

पाँजलो न्युज
२३ असोज २०८३ ११:२८
१५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, पत्रकार दिनेश जोशी सम्मानित

डोटी — १५२औँ विश्व हुलाक दिवसको अवसरमा डोटीमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। हुलाक सेवाको महत्व, प्रभावकारिता र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सेवाग्राही सम्मानदेखि बिरामीलाई फलफूल वितरण तथा कर्मचारी सम्मानसम्मका कार्यक्रम सम्पन्न गरिएका छन्।

दिवसको अवसरमा हुलाक कार्यालयमा आएका प्रथम सेवाग्राहीलाई टीका र खादा ओढाएर सम्मान गरिएको थियो। त्यसैगरी, हुलाक सेवाको प्रचारप्रसारका लागि पोस्टर तथा पम्प्लेटसहित राजपुर बजार परिक्रमा गरिएको थियो।

कार्यक्रमअन्तर्गत सुजङ अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको थियो भने कर्मचारीबीच मनोरञ्जनात्मक घैँटो फुटाउने प्रतियोगितासमेत आयोजना गरिएको थियो।

यसै अवसरमा कार्यालयबाट सेवा निवृत्त भएका हल्कारा मेगराज बानियाँ सम्मानसहित बिदाइ गरिएको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीतर्फ हुलाक कार्यालय के.आई. सिंह गाउँपालिकामा कार्यरत हल्कारा मीना भट्ट, सिलगढीमा कार्यरत हल्कारा तथा हुलाक काउन्टरका कर्मचारी कुलराज जोशी र दिपायलमा कार्यरत कार्यालय सहयोगी अस्मी साउदलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

हुलाक दिवसकै अवसरमा हुलाक सेवाको प्रवर्द्धन र प्रचारप्रसारमा योगदान पुर्‍याएको भन्दै पत्रकार दिनेश जोशीलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ।

कार्यक्रमले हुलाक सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै सेवाको महत्वबारे जनचेतना फैलाउन र कर्मचारीलाई थप जिम्मेवार तथा प्रोत्साहित बनाउन सहयोग पुग्ने कार्यालय प्रमुख प्रेम बहादुर माझीले बताउनु भयको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *