तिहार नजिकिँदै गर्दा बजार झिलिमिली हुन थाल्छ। घर–आँगनमा दियो बल्न थाल्छन्। देउसी–भैलोका आवाज गाउँदेखि सहरसम्म गुञ्जिन थाल्छन्। मिठाईका परिकार बन्छन्, फूलका माला गाँसिन्छन् र सबैको मनमा उत्साह छाउँछ। तर तिहारको सबैभन्दा विशेष दिन—भाइटीका नजिकिँदै गर्दा मेरो मनमा भने एउटा छुट्टै अनुभूति सुरु हुन्छ।
किनकि अरूका लागि भाइटीका एउटा पर्व हो, तर मेरा लागि यो दिन एउटा अभाव सम्झाउने दिन पनि हो।अरूका दिदीबहिनी आफ्ना दाजुभाइको निधारमा सप्तरंगी टीका लगाइरहेका हुन्छन्। माला लगाइदिन्छन्। मिठाई खुवाउँछन्। लामो आयुको कामना गर्छन्। दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई उपहार दिन्छन्, खुसी साट्छन्। म त्यो दृश्य टाढाबाट हेर्छु।
(खुसी लाग्छ,साँच्चिकै खुसी लाग्छ
तर त्यही खुसीको बीचमा मनको एउटा कुनामा चुपचाप एउटा प्रश्न उब्जिन्छ—“मेरो निधारमा टीका लगाउने दिदीबहिनी भएको भए कस्तो हुन्थ्यो होला?” सायद म पनि बिहानैदेखि टीकाको प्रतीक्षामा हुन्थेँ होला। सायद कसैले मेरो निधारमा टीका लगाउँदै “सधैँ खुसी हुनु” भन्थे होला। सायद कसैले हातमा माला लगाउँदै दाजुभाइको मायाको अर्थ बुझाउँथ्यो होला। तर यी सबै कुरा मेरो जीवनमा ‘सायद’ मै सीमित छन्।
मेरो दिदीबहिनी छैनन्।
यो कुरा सामान्य अवस्थामा खासै ठूलो लाग्दैन। दैनिक जीवन आफ्नै गतिमा चलिरहेको हुन्छ। काम, जिम्मेवारी, साथीभाइ, परिवार—सबै कुराले मन व्यस्त बनाइरहेको हुन्छ।
तर तिहार आउँछ (भाइटीका आउँछ)
अनि अरूका घरमा दिदीबहिनीले दाजुभाइको निधारमा टीका लगाएको दृश्य देख्दा त्यो सानो अभाव एकाएक ठूलो भएर अगाडि उभिन्छ। त्यतिबेला लाग्छ—केही सम्बन्धहरू जीवनमा नहुँदा पनि तिनको अभाव भने जीवनभर महसुस हुँदो रहेछ।
दिदीबहिनी हुनु भनेको केवल तिहारको दिन टीका लगाइदिनु मात्र होइन रहेछ। त्यो त जीवनभरको एउटा साथी, कहिले झगडा गर्ने, कहिले जिस्क्याउने, कहिले सम्झाउने र आवश्यक पर्दा आफ्नै पक्षमा उभिने एउटा सम्बन्ध रहेछ।
त्यो सम्बन्ध मेरो भागमा परेन।
त्यसैले तिहार आउँदा अरूका घरमा उज्यालो बढ्दै जाँदा मेरो मनको एउटा कुनामा भने एउटा खाली ठाउँ अझ प्रस्ट देखिन्छ। तर म कसैसँग गुनासो गर्दिनँ। किनकि जीवनमा सबै कुरा आफ्नो इच्छाअनुसार कहाँ पाइन्छ र?
कसैलाई दिदीबहिनीको माया मिल्छ, कसैलाई दाजुभाइको। कसैको घरमा तिहारको दिन ठूलो जमघट हुन्छ, कसैको घरमा शान्ति हुन्छ। कसैको निधारमा टीका लगाउने हात धेरै हुन्छन्, कसैको निधार खाली हुन्छ। तर खाली निधारभन्दा पनि ठूलो कुरा त त्यससँग जोडिएको भावना रहेछ।
अरूका निधारमा टीका देख्दा मेरो निधारमा टीका नभएको भन्दा पनि, त्यो टीका लगाइदिने सम्बन्ध नभएको पीडा बढी हुन्छ। सायद यही कारणले तिहारको दिन म भीडमा भएर पनि केहीबेर एक्लो महसुस गर्छु।
अरूहरू फोटो खिचिरहेका हुन्छन्। हाँसिरहेका हुन्छन्। टीका र मालासहित सामाजिक सञ्जालमा तस्बिर राखिरहेका हुन्छन्।
म पनि मुस्कुराउँछु। तर कहिलेकाहीँ त्यो मुस्कानभित्र एउटा प्रश्न लुकेको हुन्छ— “यदि मेरो पनि दिदीबहिनी भएको भए, मेरो तिहार कस्तो हुन्थ्यो होला?” त्यसको उत्तर मसँग छैन।सायद कहिल्यै हुने पनि छैन।
तर यति चाहिँ थाहा छ—तिहार सकिएपछि टीका पखालिन्छ, फूलका माला ओइलाउँछन्, देउसी–भैलोका आवाजहरू हराउँछन् र घर फेरि सामान्य हुन्छ। तर दिदीबहिनी नभएको त्यो खालीपन भने अर्को तिहार नआएसम्म पनि मनको कुनै कुनामा चुपचाप बसिरहन्छ।
त्यसैले यसपटक तिहारमा अरूका निधारमा टीका देख्दा म केवल उनीहरूको खुशी हेर्नेछु। र आफ्नै निधार छाम्दै मनमनै भन्नेछु—“टीका लगाउने हात नभए पनि, त्यो हातको कल्पना गर्ने मन त रहेछ।”
सायद यही नै मेरो तिहार हो।
सम्पुर्ण मा तिहार अर्थात भाइ टिकाको शुभकामना







प्रतिक्रिया