श्रम विभेद अन्त्य र सेवा सुविधाको माग गर्दै जिल्ला अस्पताल डोटीका कर्मचारी आन्दोलनमा

पाँजलो न्युज
१४ कार्तिक २०८३ ७:४१
श्रम विभेद अन्त्य र सेवा सुविधाको माग गर्दै जिल्ला अस्पताल डोटीका कर्मचारी आन्दोलनमा

डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत कार्यक्रम करारका कर्मचारी तथा स्वास्थ्यकर्मीहरू श्रम विभेदको अन्त्य र समान सेवा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

अस्पतालमा कार्यरत दरबन्दी करार र कार्यक्रम करारका कर्मचारीहरूले समान प्रकृतिको काम तथा जिम्मेवारी निर्वाह गर्दै आए पनि सेवा सुविधामा विभेद भइरहेको भन्दै कार्यक्रम करारका कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्।

उनीहरूका अनुसार स्थायी तथा दरबन्दी करारका कर्मचारीले सरकारले वृद्धि गरेको तलब, महँगी भत्ता, दसैँ पेस्की तथा पोसाक भत्तालगायतका सुविधा प्राप्त गर्दै आए पनि कार्यक्रम करारका कर्मचारी भने ती सुविधाबाट वञ्चित छन्।

यस विषयमा प्रदेश सरकार तथा सम्बन्धित निकायलाई पटक–पटक मौखिक र लिखित रूपमा ध्यानाकर्षण गराउँदा समेत माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूको भनाइ छ।

आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उनीहरूले आज २०८३ साल कात्तिक १३ गतेदेखि हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।

कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा अस्पतालको नियमित स्वास्थ्य सेवा तथा बिरामीहरूलाई कुनै असर नपर्ने गरी विरोध गर्ने जनाएका छन्।

उनीहरूले श्रम विभेदको अन्त्य, समान कामको समान सुविधा तथा न्यायोचित सेवा सुविधाको व्यवस्था गर्न प्रदेश सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *