डोटी- भारतमा जारी खो खो विश्वकपमा नेपालको राष्ट्रिय महिला र पुरुष दुवै टोली फाइनलमा प्रवेश गर्दै उपाधी नजिक पुगेका छन्। दुवै टोलीले फाइनल यात्रा तय गर्दा इतिहास रचिएको छ। नेपालको टोली कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो। नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै राष्ट्रिय महिला टोली फाइनलमा प्रवेश गरे सँगै ऐतिहासिक स्वर्णिम क्षण बनेको छ।
शनिबार भएको महिला तर्फको सेमिफाइनलमा नेपालले युगान्डलाई ८९-१८ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। जारी प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीले फाइनल सम्मका सबै खेलमा अपराजित रहँदै ऐतिहासिक फाइनल यात्रा तय गरेको छ। भारतीय महिला टोलीले शनिबार नै भएको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै नेपाल सँगको उपाधि भिडन्त पक्का गरेको छ।

यता नेपाली राष्ट्रिय पुरुष टोलीले पनि इरानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। नेपालको पुरुष राष्ट्रिय खो खो टोलीले शनिबार भएको पहिलो सेमिफाइनल खेलमा इरानलाई पराजित गर्दै ऐतिहासिक फाइनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित इन्दिरा गान्थी इन्डोर हलमा भएको खेलमा नेपालले इरानलाई ७२-२० अंकको अन्तरले हरायो ।

पुरूष तर्फ उद्घाटन खेलमै भारतसँग पराजित भए पनि त्यस पछि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’ को उप विजेता बन्दै क्वाटरफाइनल पुगेको थियो। पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अंकको अन्तरले हराएको थियो। क्वाटरफाइनलमा भने नेपालले बंगलादेशलाई ६७-१८ को अन्तरले हराएको थियो ।
नेपाली राष्ट्रिय महिला तथा पुरूष टोलीलाइ फाइनलमा प्रवेश गरे सँगै नेपालले कुनै पनि खेलको विश्वकपको विजेता बन्दै इतिहास रच्ने सुनौलो अवसर रहनेछ। अब उपाधिका लागि नेपाली राष्ट्रिय महिला टोलीले आइतबार साँझ ०७:१५ बजे आयोजक भारतीय राष्ट्रिय महिला टोली र नेपाली राष्ट्रिय पुरुष टोलीले पनि आइतबार राती ०८:३० बजे हुने फाइनलमा आयोजक भारतीय पुरुष टोली संग प्रतिस्पर्धा गर्नेछन।
प्रतिक्रिया