(डोटी) बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस डोटीले सिलगढीमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्व.विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा जिल्ला समन्वय समिति डोटीको परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको नेपाली काँग्रेस डोटीका पार्टी सचिव गणेश बहादुर खड्काले बताए । पार्टीले एक औपचारिक कार्यक्रमको आयोजना गरी वृक्षारोपण गरिएको सचिव खड्काले बताए ।
बिपी स्मृति दिवसको अवसरमा बोल्दै नेपाली काँग्रेस डोटीका कार्यवाहक सभापति बाजी सिंह खड्काले देशलाई सही दिशामा डोर्याउन बिपीको सिद्धान्त अवलम्बन गर्न आवश्यक रहेको बताउँदै नेपाली काँग्रेस सँग आबद्ध नेता कार्य कताहरुले बिपीवादका सिद्धान्त अध्ययन नगरे राजनीतिक यात्रा नै अधुरो हुने समेत बताए ।
दिवसको अवसरमा जिल्ला समन्वय परिसरमा विभिन्न फलफूलका बिरुवाहरू रोपिएका थिए । स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रम नेपाली काङ्ग्रेस उप–सभापति तथा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख खड्का ,पार्टी सचिव तथा आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्का , नेपाली काङ्ग्रेसका महासमिति सदस्य जित बहादुर खड्का , जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनारा,शिखर नगर पालिका नगर प्रमुख दीर्घ बहादुर बलायर , उप प्रमुख सुनिता रावल जोरा, महाधिवेशन प्रतिनिधि विजयराज ओझा , नेपाली काङ्ग्रेस पार्टी प्रवक्ता सुशील घर्ती ,नेबि सङ्घका केन्द्रीय सदस्य लोकेन्द्र भण्डारी , प्रकाश ठकुल्ला , नेपाल प्रेस युनियनका अध्यक्ष चक्र कुँवर लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता भातृ संघसंगठनका प्रमुख प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
संसदीय निर्वाचनपछि वि.सं २०१६ मा कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । काँग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको वि.सं १९७१ मा जन्म भएको थियो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो ।







प्रतिक्रिया