बाढीपीडितका लागि चण्डिका इङ्लिस बोर्डिङ स्कुलद्वारा २० हजार १५५ रुपैयाँ सहयोग

पाँजलो न्युज
२९ भदौ २०८३ १:०१
बाढीपीडितका लागि चण्डिका इङ्लिस बोर्डिङ स्कुलद्वारा २० हजार १५५ रुपैयाँ सहयोग

(दिनेश जोशी)डोटी — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै डोटीको के.आई. सिंह गाउँपालिका–३, वासुदेवीस्थित श्री चण्डिका इङ्लिस बोर्डिङ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबाट संकलित रु. २० हजार १५५ रकम बाढीपीडितको राहत तथा उद्धारका लागि कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका नियमित कार्यक्रमअन्तर्गत तीजमा दर खाने तथा विभिन्न पुरस्कारलगायतका खर्चमा कटौती गरी उक्त रकम संकलन गरिएको हो। विपद्को समयमा पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको विद्यालयको भनाइ छ।
यस अभियानमा विद्यालयका विद्यार्थी भाइबहिनी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालय परिवारले जनाएको छ।
विद्यालय परिवारले सहयोग अभियानमा सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई धन्यवाद दिँदै विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु सबैको कर्तव्य र सामाजिक उत्तरदायित्व भएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *