(डोटी) – दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोड स्थित सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको छ ।
आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ कार्यालय प्रमुख राम धामीले बताए । उनले करिब ८ करोड बराबरको खानेपानी पाइप नष्ट भएको जानकारी दिए ।
गएराती करिब १२ बजे गोदाममा आगलागि भएको बताइएको छ । दिपायल सिलगढी नगरपालिकाको दमकलको सहयोगमा स्थानीय र प्रहरीले साढे ३ घण्टा पछि नियन्त्रणमा लिएका हुन् ।
कसैले नियतबस गोदाम घरमा आगो लगाएको हुनसक्ने कार्यालय प्रमुख धामीले आरोप लगाएका छन् ।
‘त्यत्रो पाइप नष्ट हुन दुइ सय २० सम्म डिग्री तापक्रम हुनपर्छ’ , धामीले आरोप लगाउँदै भने, ‘गल्तीवस सामान्य आगोको झुस्को वा विद्युत सर्टमात्र भएर पाइपमा आगो लाग्ने सम्भावना हुँदैन । आगो लगाएको कस्ले हो , प्रहरी प्रशासनसंग अनुसन्धानका लागि आग्रह गर्छौ ।’

दिपायल सिलगढी नगरपालिकाको वडा नं. ६ स्थित रातुली–पाकरीमा विस्तार भइरहेको खानेपानी लाइनका विस्तारका लागि ल्याइएको २ ट्रक पाइप, दिपायल सिलगढी नगरपालिकाले आ.व. ०७१÷०७२ मा जगेडा कोषबाट खरिद गरेर उपलब्ध गराएको ३२ लाख बराबरको खानेपानी पाइप, सिलगढीका ६ सय १६ घरधुरीमा खानेपानी धारा केनेक्सन गर्न ल्याइएको हाफ इञ्चको २ ट्रक पाइप, खानेपानी तथा सरसफाइ डिभिजन राजपुरले भेलछडा खानेपानीका लागि खरिद गरि सिलगढी खानेपानीलाई हस्तान्तरण गरेको करिव ५ किलोमीटर लम्बाइको खानेपानी पाइप तथा खप्तडदेखि सिलगढीमा पानी ल्याउन खरिद गरेको २ ट्रक पाइप गोदाम घरमा जलेर नष्ट भएको कार्यालय प्रमुख धामीले बताए ।
त्यसबाहेक विभिन्न समयमा आफै खरिद गरिएका खानेपानी तथा अन्य कार्यालयहरुसंग सहयोग मागेर स्टोर गरिएका पाइपपनि आगलागीवाट नष्ट भएको जानकारी दिए ।
बैशाख महिनामा मात्र खप्तड राष्ट्रिय निकुञ्चमा लागेको डढेलोले खानेपानी पाइपमा लागो लागेपछि महिना दिनसम्म सिलगढीमा खानेपानी हाहाकार भएको थियो ।
उपभोक्ताहरुको श्रमदान गरेर एक महिनापछि खानेपानी आपुर्ती गरेसंगै गोदामघरमा आगो लाग्दा सिलगढी खानेपानी कार्यालयलाई ठुलो क्षती भएको छ ।
प्रतिक्रिया