(डोटी) – अनियमितताको शंका लागेमा बिल भपाई माग्न आउनेलाई पालिकामा स्वागत गरिने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताएका छन् । उनले सूचनाको हक प्रयोग गरी नागरिकहरूलाई सत्यतथ्य बुझ्न अनुरोध समेत गरे । आइतबार आदर्श गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सो कुरा बताएका हुन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा खरिद प्रकृयामा जनप्रतिनिधि आफै संलग्न रहेको आरोप लगाएका थिए । सो कुराको खण्डन गर्दै पालिका अध्यक्ष गणेश बहादुर खड्का र उपाध्यक्ष लक्ष्मी धामी रोकायाले फर्निचर तथा विविध सामाग्रीहरूको खरिद प्रकृया तथा राहत वितरणमा अनियमितता नगरेको दाबी गरेका छन् । बाहिर टिकाटिप्पणी र आलोचना गरी भ्रममा रहनु भन्दा सत्यतथ्य बुझ्न सूचनाको हक प्रयोग गरि यथार्थ विवरण लग्न अध्यक्ष खड्का र उपाध्यक्ष रोकायाले आग्रह गरेका छन् ।
‘एक रुपैयाँ पनि अनियमितता भएको छ भने मेरा तीन सन्तान र कालभैरव देवताको कसम खान तयार छु’, अध्यक्ष खड्काले सार्वजनिक सुनुवाईमा प्रतिकृया दिदै भने ,‘सस्तो , सुलभ र गुणस्तरीय सामाग्री ल्याउन तथा खरिद प्रकृयामा हुने चुहावटलाई जोगाउन दिपायल र धनगढीका एक एक पसलहरूमा अध्ययन गरी खरिद गरिएको छ ।’ सार्वजनिक सुनवाईमा फर्निचर, लुगाकपडा, सेनेटरी प्याड खरिद लगायतको खरिद प्रकृयामा अनियमितता भएको भन्दै चन्द्रदेव ओझाले आरोप लगाएका थिए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायामाथि वडा नं. ३ का भूकम्प पीडितलाई पाल र पाइप आफ्ना मान्छे र कार्यकर्ताहरूलाई बितरण गरेको आरोप लगाइएको थियो । उपाध्यक्ष रोकायाले वडा अध्यक्ष र वडा कार्यालयसँगको समन्वय र सहकार्यमा वास्तविक पीडितहरूको माग र प्राविधिकहरूको स्टीमेटको आधारमा मात्रै बितरण गरेको दाबी गरिन् । उपाध्यक्षमा वडा कार्यालयसँग समेत समन्वय नगरेको आरोप थियो । नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित दिपेन्द्र पाठकले समेत उपाध्यक्ष रोकायाको बचाउ गरेका थिए । उनले वडा कार्यालयसँगको सहकार्यमै वितरण गरेकाले उपाध्यक्ष माथिको लगाइएको लाञ्छना झुट भएको तर्क गरे ।
आदर्श गाउँपालिकाले चालु आर्थिक वर्षबाट वडास्तर र पालिकास्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो । वडास्तरमा सार्वजनिक सुुनुवाई गर्ने आदर्श गाउँपालिका जिल्लामा दोस्रो स्थानीय तह हो । गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पालिकालाई सुशासनमैत्री , पारदर्शी र जवाफदेही बनाउन वडा र पालिकास्तरमा चौमासिक रुपमा सार्वजनिक सुनवाई गरिने समेत प्रतिबद्धता गरे । सामाजिक सञ्जाल र बाहिर अनियमितता र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनु भन्दा पालिकामा आएर एक एक बिलभर्पाई बारे सोधखोज गर्न आदर्श गाउँपालिकाबासी लाई अध्यक्ष खड्काले आग्रह समेत गरेका छन् ।
‘म राजनैतिक प्राणी हुँ , अझै यो पदभन्दा माथि जानु छ त्यसैले मैले गरेका हरेक काम पारदर्शी राख्न चाहन्छु, ‘अध्यक्ष खड्काको भनाइ थियो, ‘सत्यतथ्य छानबिन तथा सूचनाको हक प्रयोग गरी अनियमितता गरेको पुष्टि हुन्छ भने एक मिनेट पनि पदमा बस्ने छुट मलाई छैन ।’ उनले अघिको निर्वाचित सरकारसँग सूचनाको हक प्रयोग गरी लिखित रुपमा सूचनामा माग्दा समेत बञ्चित गरिएको कुरा कोट्याउदै अहिले सो वातावरण नरहेको बताए । जुनसुकै बेला पनि कार्यालयमा सूचना माग्नेलाई हृदयबाट नै स्वागत गर्न तयार रहेको कुरा अध्यक्ष खड्काले पटक पटक दोहोर्याएका थिए । पालिकामा निर्वाचित भएको कार्यपालिका समितिको पहिलो र महत्वकांक्षी निर्णय गरिएको भनिएको मदिरा निषेधको विषयमा समेत सार्वजनिक सुनुवाईमा आलोचना गरिएको थियो । सो विषयमा जनप्रतिनिधिहरूले बचाउ गर्दै मदिरा निषेधको अभियानलाई आगामी आर्थिक वर्षबाट थप प्रभावकारी बनाएर लगिने बताए ।
‘ जनप्रतिनीधि र प्रहरी एक्लैले मात्र मदिरा निषेध गर्न सम्भव छैन । सबैको हातेमालो गर्न जरुरी छ ’, अध्यक्ष खड्काले आग्रह गर्दै भने, ‘ चोरीबाटो भएर मदिरा भित्रिने, केही सीमित व्यक्तिहरूको स्वार्थ समुहले चलखेल गरिरहेको पाइएको छ । आगामी आर्थिक वर्षबाट महिला तथा यूवा समुह वडा तथा टोलस्तरीय गठन गरि अगाढी बढ्ने छौं । सार्वजनिक सुनवाई कार्यक्रममा निर्माणाधीन सडकहरूको मर्मत र संरक्षण गर्नुपर्ने, वातावरण र पर्यावरण जोगाउन वृक्षारोपण गर्नुपर्ने, प्लास्टिक निषेधित पालिका घोषणा गर्नुपर्ने , शिक्षा र कृषिलाई प्राथमिकीकरण दिनुपर्ने, मदिरा निषेधलाई थप प्रभावकारी बनाउनु पर्ने जस्ता सुझाव आएका थिए । न्यायका लागि सञ्चार नेपालको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, बौद्धिक जगत, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया