(दिनेश जोशी) डोटी- डोटी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्ववियुले जिल्ला प्रशासन कार्यालय डोटीलाई प्रेस विज्ञप्ति जारी गर्दै तत्काल ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको हो।
स्ववियुका अध्यक्ष इन्द्र राणाद्वारा जारी विज्ञप्तिमा विशेषगरी डेरा तथा छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरू ग्यास अभावका कारण नियमित रूपमा खाना पकाउन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। यसबाट विद्यार्थीहरूको अध्ययन प्रभावित हुनुका साथै उनीहरूले ग्यास खोज्नकै लागि समय खर्च गर्नुपर्ने र आर्थिक तथा मानसिक रूपमा थप मारमा पर्नुपर्ने अवस्था आएको स्ववियुको भनाइ छ।
विद्यार्थीको शिक्षा प्राप्त गर्ने अधिकारसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयमा सम्बन्धित निकायको उदासीनता, कमजोर बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनप्रति स्ववियुले असन्तुष्टि व्यक्त गरेको छ।
स्ववियुले जिल्ला प्रशासन कार्यालयसँग जिल्लाभर खाना पकाउने एलपी ग्यासको नियमित तथा सहज आपूर्ति तत्काल सुनिश्चित गर्न माग गरेको छ। साथै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने जो–कोहीमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न आग्रह गरेको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित सुरक्षा निकाय र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित निकायले संयुक्त रूपमा प्रभावकारी बजार अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने माग पनि स्ववियुले अघि सारेको छ।
विद्यार्थीहरूको अध्ययन प्रभावित नहुने गरी आवश्यक समन्वय र व्यवस्थापन तत्काल गर्नुपर्ने भन्दै स्ववियुले समस्या समाधानका लागि सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरेको छ।
समस्या तत्काल समाधानका लागि ठोस र प्रभावकारी कदम नचालिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने स्ववियुले चेतावनी दिएको छ। शान्तिपूर्ण धर्ना, ज्ञापनपत्र, घेराउ तथा अन्य वैधानिक आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले स्वयं वहन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
स्ववियुले विद्यार्थीको शिक्षा, अधिकार र भविष्यसँग जोडिएको विषयमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने भन्दै विद्यार्थीहरूको हकहितको रक्षाका लागि सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ।






प्रतिक्रिया