प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन

प्रदेश राजधानीको मुद्धा चर्कदै

डोटीका हेभिवेट नेताहरु बीर बहादुर बलायर, प्रेम आलेमगर, त्रिलोचन भट्ट, भरत बहादुर खड्का, पूर्णा जोशी, अर्चना गहतराजलाई मतदाताहरु प्रदेश राजधानीबारे चियापसल देखि सभासम्मेलनमा प्रश्न गरेर जवाफ मागिरहेका छन्

मोहन शाही
३० भदौ २०७९ ५:१९
प्रदेश राजधानीको मुद्धा चर्कदै

भदौ ३० , दिपायल । दिपायल राजपुरका भूपेन्द्र शाहले गत बुधबार निर्वाचनमा भोट माग्न आफुकहॉ नआउन नेताहरुलाई चेतावनी दिए । उनको ०७४ को निर्वाचनमा निर्वाचित सांसदहरुले पदसंग प्रदेश राजधानी बेचेको आरोप छ । सामाजिक संञ्जालमार्फत जानकारी दिदापनि मत माग्न आएमा हुनसक्ने दुरव्यवहारको स्वयम् नेताहरु नै जिम्मेवार हुनुपर्ने चेतावनी उनको छ ।

दिपायल पिपल्लाका सन्तोष श्रेष्ठको आरोप पनि उस्तै छ । दिपायललाई राजधानी बनाउने सपना बाडेका प्रमुख दलका उम्मेदवारहरुले निर्वाचनपछि अन्यत्र राजधानी सार्न सहयोग गरेको भन्दै श्रेष्ठले लामो समयदेखि असन्तुष्टी ब्यक्त गर्दै आएका छन् ।

निर्वाचन नजिकिदै गर्दा राजधानीको बिषयलाई लिएर यस्ता असन्तुटी र आक्रोस डोटीमा बढ्दै गएको छ । मतदाताहरुले पेचिलो गरी राजधानीको प्रसङग उठाउन लागेका छन् । आसन्न प्रदेश तथा प्रतिनिधी सभा सदस्यको निर्वाचनका आकांक्षी उम्मेदबारहरुलाई त्यही पेचिलो मुद्धाको सामना गर्न सकस परिरहेको छ ।

०७४ को निर्वाचनमा दिपायलमै राजधानी तोक्ने सर्तसाथ निर्वाचीत सांसदहरुमाथि चियापसल देखि सामाजिक संजालहरुमा जवाफ मागिरहेको उधोग बाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए । अधिकांस मतदाताको निर्वाचित सांसदहरुमाथि पदसंग जन्मथलो बेचेको आरोप लागिरहेको खड्काको भनाई छ ।

राजधानीका लागि प्रदेश सभा सदस्यको मन जित्न डोटीबासीले ०७५ सालमा सिंगारेको दिपायलको पिपल्ला बजार । तस्बिर – मोहन शाही/फाइल तस्विर

डोटीबाट प्रतिनिधी सभा सदस्यमा समाजबादीका प्रेम बहादुर आलेमगर, प्रदेश क बाट कांग्रेसका भरत बहादुर खड्का, प्रदेश ख मा माओवादी केन्द्रका त्रिलोचन भट्ट निर्वाचित भएका थिए  भने समानुपातिकबाट समाजबादीकी पूर्णा जोशी, एमालेकी अर्चना गहतराज सांसद भएका छन् । प्रेम बहादुर आलेमगर दुई पटक मन्त्री भए भने, त्रिलोचन भट्टले ५ बर्षको पुरै कार्यकाल सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री भए । उता पूर्णा जोशी पनि प्रदेश सरकारको मन्त्री र अर्चना गहतराज राज्यमन्त्री भइन् । दिपायलका लोकेन्द्र भण्डारीले निर्वाचित सवै सांसदहरुले प्रदेश राजधानी सार्ने शर्तमा निर्वाचित भएपनि मन्त्रीको पद पाएपछि आफ्नो कर्तव्य बिर्सेको आरोप लगाए ।

प्रधानमन्त्री शेर बहादुर देउबा नेतृत्वको सरकारले २०७४ पुस १८ गते सुदूरपश्चिम प्रदेशको अस्थाइ राजधानी धनगढी तोकेको थियो । देउबा नेतृत्वको सरकारमा ०७४ सालको सम्पन्न प्रतिनिधी सभा निर्वाचनका उम्मेदबार बीर बहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका थिए । राजधानीको बिषय लिएर जनता सडकमा उत्रेका बेला आफै मन्त्री हु“दा पनि दिपायल राजधानी तोक्न नसकेको आरोप बलायरमाथि छ । ‘मन्त्री परिषद बैठकमा निर्णय रोक्न नसकेपनि उनले नैतिकताका आधारमा राजीनामा दिएर सडकमा उत्रिएर जनतामाझ आउनु पथ्र्यो’, दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर उपप्रमुख प्रेम बहादुर शाहले आरोप लगाए–‘ तर उनी आमा बेचिदा पनि कुर्चीमा टासिएर बसे । अब उनलाई जनतामाझ आउने कुनै नैतिक अधिकार छैन ।’

 

तीनै बलायरसंग चुनावी प्रतिस्पर्धामा उत्रेका प्रेम बहादुर आलेमगरले निर्वाचनका क्रममा राजधानी दिपायल नतोकीए राजिनामा दिएर सडकमा उत्रने नारा सहितका ब्यानर ठाउठाउमा  टासेर मत मागेका थिए । तर निर्वाचित भएपछि राजधानी अन्यत्र तोकिदा राजिनामा दिएनन् । बरु २÷२ पटक मन्त्री पद पड्काए । ‘आले राजनैतिक स्टण्ड गर्नका लागि जे पनि बोल्छन् भन्ने कुरा पुष्टी भइसक्यो’, केआईसिंह २ का चक्र बमको आरोप छ, ‘पटक पटक आश्वासनबाट विक्षिप्त भइसक्यौं, दिपायललाई धोका दिने नेताहरुलाई अबको निर्वाचनमा पाठ सिकाउनै पर्नेछ ।’

उता अनशनमा बसेका आन्दोलनकारी कहा नै गएर प्रदेश राजधानी दिपायल हुनुपर्ने भन्दै चुनाबमा उत्रेका त्रिलोचन भट्टले मुख्य मन्त्री भएपछि उल्टै गोदावरीमा स्थाइ तोके । मन्त्री भट्टसहित तत्कालिन नेकपा केन्द्रका अन्य दुई सांसद पूर्णा जोशी र अर्चना गहतराजले पनि स्थाई राजधानी तोक्न भोट हाले । ‘हामी यी अनुहारहरुका भित्रि र बाहिरी रुप चिनिसकेका छौं, प्रदेशका योजना देखि मातृभूमीसम्म बेचेर यीनीहरुले खाए ,’ नेपाली कांग्रेसका नेता नर बहादुर ढॉटले भने, ‘यदि यीनै अनुहार निर्वाचनमा दोहोरिने हुन भने स्वतन्त्र उम्मेदवार पनि खडा हुनेछन् । जनताले सजाय अवश्य दिनेछन् ।’

 

प्रमुख पार्टीका नेता तथा कार्यकर्ताहरुले राजधानीको बिषयलाई लिएर एकअर्कामाथि आरोप लगाएर बच्ने उपाय गरिरहेका छन् । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायर आफु निर्वाचनमा हारेका कारण मन्त्रीपरिषदको २ वटा बैठक बहिष्कार गर्दा पनि सफल हुन नसकेको बताउछन् । पूर्व मन्त्री प्रेम बहादुर आलेमगर पार्टीभित्र राजधानी दिपायलमै सार्ने बिषयमा सहमती गराइसकेको भएपनि तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाले अस्थाइ राजधानी धनगढी तोकेका कारण आफुले पहल गर्न नसकेको बताए । उनले प्रदेश सभामा तराईका जिल्लाका सांसदहरुले समर्थन नदिएकोले दिपायलका लागि निर्णय गर्न नसकेको तर्क गर्छन । उता मुख्यमन्त्री त्रिलोचन भट्टको पनि पूर्व मन्त्री आलेको झै तर्क छ । ‘दिपायलका लागि डोटीका सांसदले मात्र पुग्ने भए म एक्लै निर्णय तोक्ने थिए, ’ भट्टले भने, ‘नपुग्ने भएपछि नियमानुसार गोदावरी तोकिएको हो ।’ तर डोटीका प्रदेश सभाका सांसदले मात्र मत नहालेको भए स्थाइ राजधानी गोदावरी तोक्नुपर्ने अवस्था नआउने सांसद भरत बहादुर खड्काले भनाइ छ । उनले गोदावरी राजधानी तोक्ने प्रस्तावको बिपक्षमा समर्थक र प्रस्तावक बसिदिन डोटीका अन्य सांसदलाई आग्रह गर्दा पनि सहयोग नगरेको खड्काको तर्क छ । ‘इमानदार कोही हुनुभएन’, सांसद खड्काले भने, ‘त्यसैले राजधानीको बिषयलाई लिएर जनतामा ठुलो पीडा परेको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *