कल २४ न्यूज कप फुटसलको दोस्रो संस्करण असोज २४ र २५ गते

पाँजलो न्युज
१९ असोज २०८३ १०:४७
कल २४ न्यूज कप फुटसलको दोस्रो संस्करण असोज २४ र २५ गते

दिपायल- कल २४ न्यूज प्रा.लि.ले ‘कल २४ न्यूज कप फुटसल टुर्नामेन्ट–२०८३’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ। प्रतियोगिता असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा सञ्चालन हुनेछ।
खेलकुदको प्रवर्द्धन, युवालाई सकारात्मक गतिविधिमा जोड्ने तथा स्वस्थ समाज निर्माणको सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। गत वर्ष पहिलो संस्करण सम्पन्न गरेको आयोजकले यसपटक प्रतियोगितालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको छ।
प्रतियोगितामा पुरुष र महिला गरी दुई विधामा खेल हुनेछन्। पुरुषतर्फ ३० वर्ष वा सोभन्दा माथिका खेलाडीले सहभागिता जनाउन पाउनेछन्। प्रत्येक टोलीमा ३० वर्षमुनिका एक जना खेलाडीसमेत राख्न सकिने व्यवस्था गरिएको छ। पुरुष टोलीमा सात जना खेलाडी रहनेछन्।
महिलातर्फ भने उमेरको कुनै हदबन्दी रहने छैन। महिला टोलीमा पनि सात जना खेलाडी सहभागी हुन पाउनेछन्।
पुरुषतर्फ प्रतियोगिताको विजेताले ५० हजार ५५ रुपैयाँ र उपविजेताले ३० हजार ५५ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ विजेतालाई २२ हजार २२२ रुपैयाँ र उपविजेतालाई ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
व्यक्तिगत विधातर्फ पुरुषमा बेस्ट किपर, बेस्ट डिफेन्डर र टुर्नामेन्ट अफ द सिरिजलाई जनही २ हजार ५०० रुपैयाँ तथा महिलातर्फ उत्कृष्ट विधाका खेलाडीलाई जनही १ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताका सम्पूर्ण खेल कल २४ न्यूजका आधिकारिक डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
स्थानीयस्तरमा फुटसलको विकाससँगै युवालाई खेलकुदमा आकर्षित गर्ने र सकारात्मक तथा स्वस्थ गतिविधिमा सहभागी गराउने लक्ष्य प्रतियोगिताले लिएको आयोजकको भनाइ छ।
प्रतियोगिताको समाचार तथा प्रचार–प्रसारमा सहयोग गरिदिन कल २४ न्यूज प्रा.लि.ले सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *