डोटी — बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा स्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मंगलबार बिहान करिब १० बजे इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक कैलालीको गौरीगंगा नगरपालिका–९ का २८ वर्षीय सन्तोष सापकोटा खुट्टा र कम्मरमा चोट लागेर मध्यम घाइते भएका छन्। त्यस्तै, घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी टाउको र ढाडमा गम्भीर चोट लागेर गम्भीर अवस्थामा रहेका छन्।
यस्तै, बोगटान फुड्सिल–३ का १७ वर्षीय नरेश साउँद टाउको, अनुहार र ढाडमा चोट लागेर गम्भीर घाइते भएका छन् भने अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा टाउको, हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ। प्रहरी चौकी चवराचौताराबाट खटिएको टोलीले उद्धार गरेको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया