डोटी– ०७९ सालको स्थाननीय तहको निर्वाचनमा उम्मेदवारहरुले ल्याएका घोषणापत्र आदर्श गाउँपालिका वडा नं ४ देहीमाण्डौका गोपाल विष्ट झलझली समझना गर्छन ।
पालिकाभित्र रहेको खानेपानी हाहाकारको समस्या समाधान गर्ने योजनालाइ सबै दलका उम्मेदवारहरुले प्रमुख प्राथमिकता साथ अघि सारेका थिए । त्यस अघिका निर्वाचनमा पनि नेताहरुका तीनै प्रतिवद्धता रहन्थे । ०७९ मा पनि घोषणापत्र दोहोरिएपछि उनले नेताहरुको उधारो गफ लागेर हासेमा उडाउँदै सामाजिक संञ्जालमा चर्को आलोचना गरेका थिए । यस्तो आलोचना गर्ने गोपाल एक्ला होइनन । गाउँका अधिकांशको माग खानेपानीकै थियो ।
तर निर्वाचित जनप्रतिनिधीले सुरुकै बर्षबाट जलाधार तथा पर्यावरण संरक्षणमा अभियान चलाएपछि गोपाल केही आशावादी देखिए । निर्वाचित गाउँपालिका अध्यक्ष गणेश खड्काले संघिय सरकारसंग बृहत खानेपानीका लागि वडातहवाटै सहमति जुटाएर योजनाको माग गरे भने अर्कातिर अमेरिकाको यूनिभर्सिटी अफ एरीजोनाको भूविज्ञान विभागका प्राध्यापक तथा भूगर्भविद् टंक ओझालाइ पालिकामै बोलाएर जलाधार संरक्षणका लागि सुझाव एवम राय माग गरे । स्थानीयसंग अन्तरक्रिया तथा छलफल चलाए ।
भूगर्भविद् टंक ओझाले जलाधार संरक्षणका लागि पालिकाले जलाधार संरक्षणका लागि अभियान यथाशिघ्र संचालन गर्नु पर्ने राय पेश गरे जसका लागि उनले केही समयको स्थलगत अध्ययन नै गरेर पालिका भित्रका विभिन्न ६ स्थानमा जलाधार संरक्षित क्षेत्र तोकिनुपर्ने सुझाव दिए । भूगर्भविद् ओझाले गाउँपालिकालाई ती संरक्षित क्षेत्रमा आकासे पानीलाई सञ्चित गर्न ३ लाइनमा जमिनलाइ ड्रिल गर्नुपर्ने योजना अघि सारेका थिए।

उनकै सुझाव अनुसार पालिकाले रिचार्ज पोखरी बनाउने र विभिन्न स्थानहरुमा जमिनलाइ ड्रिल गरेर प्राकृतिक नहरहरु बनाउने अभियान चलाएको गाउँपालिका अध्यक्ष गणेश खड्काले बताए । उनले स्थानीयबासिन्दाहरुलाइ जलाधार संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम मार्फत अभियानमा सहयोग गर्न अपिल गरे ।
गाउँपालिकाका प्राविधीक डम्बर ओझाले वडा नं १ मा रिचार्ज पोखरी र वडा नं ४ गौरेली गाउँमाथिको जंगललाइ ड्रिल गरेर ५ सय मिटर लामो नहर खनिएको बताए । ‘माथि र तल दुइ ठाउँमा नहर खनेका छौं‘,प्राविधिक ओझाले भने,’अहिले जंगलमुनि सुकेका मूलहरु फूटन थालेको स्थानीयहरु बताउँछन ।‘
आदर्श गाउँपालिकाको ७ वटै वडामा खानेपानीको हाहाकार छ । बस्तीनजिक रहेका पानीका स्रोतहरू सुक्दै जान थालेपछि तीव्र बसाइँसराइँ तथा खाद्यान्न संकट देखिन थालेका छन् ।
गाउँपालिकाको तथ्यांक अनुसार ५ हजार २३८ घरधुरीमध्ये ४ हजार २९४ घरधुरीमा खानेपानीका धारा जडान गरिएका छन् । तर, त्यसमध्ये ५० प्रतिशत खानेपानीका धारामा पानी आउन छाडिसकेको गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काले बताए । ‘निर्वाचनमा खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेन्डा बनाएर जनताकहाँ गएको थिए,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘बस्तीनजिक पानीका स्रोत नै सुकिसकेपछि हाहाकार भइरहेको छ, अब जलाधार संरक्षण अभियानमा नलागी भएन ।’
गाउँपालिका अध्यक्ष खड्काले अभियानअर्न्तगत सुकिसकेका पानीका स्रोतहरुलाइ पुरानै अवस्थामा फर्काउन पालिकाले रणनैतिक योजना तयार पारेको बताए । जसकालागि पालिकाले अमेरिकाको यूनिभर्सिटी अफ एरीजोनाको भूविज्ञान विभागका प्राध्यापक तथा भूगर्भविद् टंक ओझासॅंग परामर्श गरिरहेको छ ।
आदर्श गाउँपालिकामै जन्मभूमि रहेका भगर्भविद् ओझाले सुकिसकेका पानीका स्रोतहरूलाई जलाधार तथा पर्यावरण संरक्षणबाट पुनः पुरानै अवस्थामा फर्काउन सकिने दाबी गरेका छन् । त्यसका लागि पालिकाको भूगर्भबारे गरिएको अध्ययनका आधारमा उनले विभिन्न ६ स्थानमा जलाधार संरक्षित क्षेत्र तोकिनुपर्ने सुझाव दिएका छन् ।
‘आकासे पानीलाई त्यही अल्मलाएर माटोको भित्री सतहमा छिराउँदा सुकेका मूल केही वर्षमै फर्कने अवस्था छ,’ ओझाले दाबी गर्दै भने, ‘हामीले विभिन्न देशहरूमा गरेको परीक्षणबाट यो पुष्टि गरिसकेका छौं,’ आदर्श गाउँपालिकालाई तत्कालै यो योजना कार्यान्वयनमा ल्याउन जरुरी छ ।’

खानेपानीकै अभावले उत्पादकत्वमा ह्रास आएपछि मानिसहरुको बस्ती बसाइसराइले उजाड भइरहेका छन । कतिपय लालाबाला सहित भारतमा रोजगारीका लागि गए । एकै गाउँबाट खानेपानीकै समस्याले जीवनयापनमा असहज भएपछि मानिसहरु भारत गएको व्यथा आदर्श गाँउपालिका वडा नं १ का दीपक खड्काले सुनाए । पालिकाले जलाधार संरक्षणका लागि संचालन गरेको अभियान सकरात्मक भएपनि त्यसलाइ चर्चाका लागि मात्र काम गरेर पछि वेवास्था गर्न नहुने सुझाव दिए । केही बर्ष पानीका मुहानलाइ पुरानै अवस्थामा फर्काउन पालिकाले गतिविधीहरुलाइ तिब्र पारेपनि पछिल्लो समय सुस्ताएको आरोप उनको छ ।
पालिकामा संघिय सरकारबाट ६५ करोड बराबरको बृहत खानेपानी योजना दिएपछि पर्यावरण संरक्षणलाइ प्राथिमकता नदिएकोमा स्थानीयको चासो छ । संघिय सरकारले आदर्श गाउँपालिकाका ७ वटै वडामा खानेपानीको सुनिश्चतता गर्ने गरि क्रमागतरुपमा स्रोतको सुनिश्चतता गरेर काम अघि बढाइसकेको छ ।






प्रतिक्रिया