केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा

दिनेश जोशी
१५ असोज २०८३ १३:०९
केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा

दिपायल- डोटीको केआईसिंह गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। गेटा आँखा अस्पताल, गेटा कैलाली र नेपाल नेत्र ज्योति संघको सहयोगमा स्थापना गरिएको आँखा उपचार केन्द्रको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले सामान्य आँखा उपचारका लागि समेत सिलगढी वा कैलालीस्थित गेटा आँखा अस्पताल पुग्नुपर्ने स्थानीयवासीको बाध्यतालाई केही हदसम्म अन्त्य गर्न उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो।
उहाँले स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध भएपछि बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै समय र आर्थिक खर्चसमेत बचत हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै गेटा आँखा अस्पतालका अध्यक्ष यज्ञराज चौधरीले सुदूरपश्चिममा आँखाको उपचार नपाएर कसैले पनि दृष्टिविहीन हुनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले अस्पतालले सेवा विस्तार गरिरहेको बताउनुभयो।
उहाँका अनुसार केआईसिंह गाउँपालिकामा सञ्चालनमा आएको यो केन्द्र गेटा आँखा अस्पतालको सहयोगमा सुदूरपश्चिम प्रदेशभर स्थापना भएका आँखा उपचार केन्द्रमध्ये २९औँ र डोटी जिल्लामा तेस्रो हो।
आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि केआईसिंह गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकले स्थानीयस्तरमै प्राथमिक आँखा उपचार सेवा पाउने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *