पिपल्ला बजारमा होटल तथा किराना पसल अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

दिनेश जोशी
१२ असोज २०८३ १३:५१
पिपल्ला बजारमा होटल तथा किराना पसल अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा दसैँ–तिहारलाई लक्षित गरी होटल तथा किराना पसलको अनुगमन गरिएको छ। विभिन्न सरकारी निकायको संयुक्त टोलीले बजारमा रहेका होटल तथा किराना पसलमा अनुगमन गर्दै खाद्य सामग्रीको म्याद, गुणस्तर, मूल्यसूची तथा पसलको अवस्थाबारे जाँच गरेको हो।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय डोटी, घरेलु तथा साना उद्योग कार्यालय राजपुर, गुणस्तर तथा नापतौल कार्यालय डोटी, खाद्य प्रविधि तथा गुण नियन्त्रण, नेपाल प्रहरी लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त भेटिएका विभिन्न खाद्य सामग्री बरामद गरिएको जनाइएको छ। बरामद गरिएका सुजि, ओखर, चिकेन मसला, चना, जिरा, खुर्सानी, चियापत्ती, सब्जी मसला लगायतका खाद्य सामग्रीलाई इलाका प्रहरी कार्यालय दिपायलमा लगेर नष्ट गरिएको छ।

‎दसैँ–तिहार जस्ता चाडपर्वका समयमा बजारमा खाद्य सामग्रीको कारोबार तथा उपभोग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यलय डोटीका ना.सु सुरेन्द्र जोशी ले बताउनुभयको छ।

अनुगमन टोलीले व्यवसायीलाई खाद्य सामग्रीको म्याद, गुणस्तर र लेबल अनिवार्य रूपमा जाँच गरी बिक्री गर्न तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने सामग्री बिक्री नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *