राज पार्की डोटी: सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम मंगलबार जिल्ला समन्वय समिति (जिसस) डोटीको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।
सिडिसीका अध्यक्ष निर्मला रोस्याराको अध्यक्षता तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाले विगत एक वर्षको अवधिमा सञ्चालन गरेका विभिन्न विकास निर्माण, सामाजिक सचेतना तथा लक्षित वर्ग लक्षित कार्यक्रम र गतिविधिहरूको समीक्षा एवं छलफल गरिएको थियो ।
सामाजिक परीक्षणका क्रममा सहभागीहरूले संस्थाले सञ्चालन गरिरहेका आयोजना तथा कार्यहरूको दिगोपनाका लागि अपनाइएका रणनीतिहरूका बारेमा चासो व्यक्त गरेका थिए । साथै बालबालिकालाई बाल क्लबमा आबद्ध गराई उनीहरूको उज्ज्वल भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ, र सीमान्तकृत एवं पछाडि पारिएका समुदायलाई विकासको मूल प्रवाहमा कसरी समेटिँदै छ भन्ने विषयमा सहभागीहरूले जिज्ञासा र सुझाव राखेका थिए ।
सिडिसि डोटीका कार्यक्रम प्रबन्धक दिनेश बमले प्रश्नको जबाफ दिदै स्थानीय तहमा बालबालिकाको क्षेत्रमा निरन्तर काम भइरहेको र उनीहरूको क्षमता अभिवृद्धि, नीतिगत सुधार तथा पुनर्गठनका कार्यहरू निरन्तर चलिरहेको जानकारी गराउनुभयो । उहाँले संस्थाले स्थानीय निकाय तथा सरोकारवालाहरूसँगको समन्वयमा बालबालिका, सीमान्तकृत एवं पछाडि पारिएका वर्गलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेको र आयोजनाहरूको दिगोपना सुनिश्चित गर्न समुदायस्तरमै क्षमता अभिवृद्धिका कार्यहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट हुने जोखिमबारे सचेतना फैलाउनुपर्ने र बढ्दो आत्महत्याका घटना न्यूनीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले गैरसरकारी संस्थाका कार्यक्रमहरू केवल अवधिभर मात्र सीमित नभई दीर्घकालीन प्रभाव पार्ने खालका हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले महिलाहरूलाई आर्थिक एवं सामाजिक रूपमा सशक्तिकरण सँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयहरूमा भौतिक वा शैक्षिक सहयोग मात्र पर्याप्त नरहेको उल्लेख गर्दै बालबालिकालाई उनीहरूको कर्तव्य र दायित्वबारे पनि सिकाउनुपर्ने बताउनुभयो ।
आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले सिडिसी डोटीले समुदाय स्तरमा पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थाले सञ्चालन गरिरहेका सकारात्मक गतिविधिहरूलाई आगामी दिनमा अझ व्यापक र निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका जिल्ला समन्वय समिति डोटीका प्रमुख सिंहले संस्थाका सचेतनामूलक कार्यक्रमहरूले समुदाय स्तरमा ठूलो परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले यस्ता प्रभावकारी कामहरूलाई निरन्तर अगाडि बढाउन जिल्ला समन्वय समितिको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले अभिभावकहरूका लागि सचेतनामूलक कक्षा सञ्चालन गर्नुपर्ने, वातावरण संरक्षणका मुद्दाहरूलाई प्राथमिकता दिनुपर्ने र लक्षित वर्गसम्म कार्यक्रमको वास्तविक पहुँच पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
समापनमा बोल्दै सिडिसिका अध्यक्ष रोस्याराले संस्थाले गरि रहेका कामलाइ प्राथमिकता दिदै समुदाय स्तरमा अझै कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाले संस्थाले गरेका गतिविधि चित्त नबुझेमा अथवा केही सल्लाह सुझाव र गुनासा भएर संस्थाको टेलिफोन नम्बर अथवा आफुलाइ सम्पर्क गर्न अपिल गर्नु भएको थियो ।
कार्यक्रममा सिडिसिका उपाध्यक्ष कृष्ण बहादुर कामिले स्वागत मन्तव्य राख्नुभएको थियो भने साझेदारीमा काम गरि रहेका संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालका डोटी जिल्ला संयोजक गांगी बलाएर, गुड नेभर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला संयोजक रन्जित चौधरीलगाएत थुप्रैले आफ्ना भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । २०४९ सालमा संस्थाको स्थापना भएको थियो ।







प्रतिक्रिया