डोटी- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि डोटीको शिखर नगरपालिका–१, कपल्लेकीस्थित श्री केदारेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्।
विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले संकलन गरेको ६१ हजार ८ सय १५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
बाढीका कारण भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन्।
आपत्–विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको कर्तव्य र उत्तरदायित्व भएको भन्दै विद्यालयले सहयोग गर्ने सम्पूर्ण विद्यार्थीप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
विद्यालयका विद्यार्थीहरूले गरेको यो सहयोगले विपद्का बेला मानवीय भावना र सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।







प्रतिक्रिया