डोटी — डोटीमा मदिराको नसामा रहेका एक शिक्षकले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
जिल्लाको जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवनपछि श्रीमती ४७ वर्षीया अमृता ओलीमाथि कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार बुधबार दिउँसो करिब पौने २ बजेतिर चन्द्रबहादुरले श्रीमतीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट अमृताको पेटको बायाँ भागमा गम्भीर चोट लागेको थियो।
घाइते अमृतालाई प्रारम्भिक उपचारका लागि स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले चन्द्रबहादुरलाई पक्राउ गरेको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।







प्रतिक्रिया