दिपायल– सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य खप्तडमा विद्युत् सेवा विस्तार गर्ने योजना आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालन हुने उक्त योजनाका लागि १ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले लामो समयदेखि खप्तडमा विद्युत् सेवा विस्तारको माग गर्दै आएको थियो। समितिका कार्यकारी निर्देशक खेमराज जोशीको सक्रियता र सरोकारवाला निकायसँगको समन्वयपछि योजना बजेटमा समेटिएको जनाइएको छ।
समितिका अनुसार विद्युत् विस्तार अभियानलाई सफल बनाउन वैकुण्ठ अर्याल, विष्णु भण्डारीलगायत विभिन्न निकायका पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। खप्तडलाई सुविधा सम्पन्न, व्यवस्थित र दिगो धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यअनुसार अघि बढाइएको पहलले सकारात्मक परिणाम दिन थालेको निर्देशक जोशीले बताए।
यसैबीच, लामो समयदेखि अधुरो रहेको सिलगढी–बगलेख–झिग्राना सडकअन्तर्गत समितिको कार्यालयदेखि एनटिभी टावरसम्मको सडक खण्ड कालोपत्रे हुने भएको छ। जग्गा विवादका कारण रोकिएको निर्माण कार्य समितिको समन्वयमा विवाद समाधान भएपछि प्रदेश सरकारले उक्त सडकका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको जोशीले जानकारी दिए।
सडक कालोपत्रे नहुँदा खप्तड पुग्ने पर्यटक र स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए। विद्युत् सेवा विस्तार र सडक स्तरोन्नतिसँगै खप्तड क्षेत्रमा पर्यटन प्रवर्द्धन, स्थानीय जनजीवनमा सहजता तथा समग्र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया