कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

कैलालीमा मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ। सोही मासु खाएका आमा र कान्छा छोरा उपचाररत छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ।

पाँजलो न्युज
५ वैशाख २०८३ ७:३७
कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

कैलालीमा कुखुराको मासु खाँदा दुई बालकको मृत्यु
कैलाली — चुरे गाउँपालिका–३, भक्तपुरका दुई बालकको कुखुराको मासु सेवनपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
उनीहरू सहोदर दाजुभाइ हुन्। प्रहरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार बिहीबार मरेको कुखुराको मासु खाएपछि उनीहरू गम्भीर बिरामी परेका थिए।
सोही मासु सेवन गरेका उनीहरूकी आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय कान्छा छोरा दीपेश ताम्राकारको अवस्था गम्भीर रहेकाले प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना बिहीबार भए पनि प्रहरीलाई शुक्रबार मात्र जानकारी प्राप्त भएको थियो। जानकारी पाएलगत्तै प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।
प्रहरीका अनुसार उनीहरूले उक्त मासु स्थानीय ‘विकास पोल्ट्री फार्म’बाट खरिद गरेका थिए। फार्म सञ्चालक मंगल साउद इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *