धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर जबराले संघीयता खारेज गर्नुपर्ने बताएका छन्।
संघीयताले मुलुकलाई भ्रष्टाचारमा धकेलेको भन्दै जबराले अब राजतन्त्रका लागि लाग्नुपर्ने बताएका हुन्। राप्रपाले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका जबराले गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी शक्ति एकजुट हुनुपर्ने बताए ।
“अहिलेको सरकार, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट भएर राजतन्त्र स्थापनाका लागि जाग्न जरूरी भइसक्यो,” जबराले भने, “मुलुकलाई निकास दिन हिन्दु राष्ट्रसहितको राजतन्त्र आवश्यक छ। सबै जनतालाई आन्दोलनमा सहभागी भएर राजतन्त्रको पक्षमा उभिन अपिल गर्दछौं। ”पूर्व राजा ज्ञानेन्द्रले जनताले साथ दिएमा अघि बढ्न तयार रहेको कुरा बताइसकेको बताउँदै जबराले शान्तिपूर्ण आन्दोलनबाट संघीयता खारेज गरिदिने चेतावनी समेत दिएका छन् संघीयता र धर्म निरपेक्षता डलरबादीहरूको इशारामा ल्याइएकोले कसैले पनि मन नपराएको दाबी पनि उनको थियोे।
राजतन्त्रले मात्र मुलुकमा रोजगारी सिर्जना र भ्रष्टाचारको अन्त्य गर्न सक्ने बताउँदै उनले सहकारी ठग, भ्रष्टाचारी नेताहरूलाई राज्यबाट अलग गर्नुपर्ने बताए। “कलकारखाना बन्द भएका छन्। युवाहरू बेरोजगार बस्नुपर्ने स्थिति बनाइएको छ । सहकारी ठगीले लाखौंको उठिबास भएको छ,” उनले भने, “जनतालाई मारेर राष्ट्र लुट्नेहरूलाई सबक सिकाएर राज्यबाटै अलग गर्नुपर्छ।
शान्तिपूर्ण आन्दोलनबाटै या सम्भव छ।” राप्रपाले कोण सभाअघि सुदूरपश्चिमको घोषित राजधानी अत्तरियाबाट धनगढीसम्म मोटरसाइकल र्याली निकालेको थियो।
प्रतिक्रिया