(डाेटी)- के.आई. सिंह गाउँपालिकाले राष्ट्रिय क्रिकेटर खेलाडी शेर बहादुर मल्ललाई नगद रकम सहित सम्मान गरेकाे छ ।
राष्ट्रिय क्रिकेटर मल्ललाई छैठौं पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित सम्मान गरेकाे हाे ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले शनिबार मल्ललाई उक्त नगद रकम सहित सम्मान गरेका थिए ।
मल्लले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनपुर बोल्ट्सको तर्फबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
मल्ल के.आई.सिंह गाउँपालिका वडा नं. ५, रानागाउँका हुन ।
शेर बहादुर मल्लले कठिन संघर्ष गरे आफू याे स्थानमा आईपुगेकाे बताए । अत्यन्तै विपन्न परिवारमा जन्मिएका मल्ल भारतमा रोजगारीका लागि गएका आफ्ना आमाबुवासँगै हुर्किए।
तीव्र इच्छाशक्ति र मेहनतका बलमा उनले क्रिकेटप्रतिको रुचि विकास गर्दै राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाएका छन्। आफ्नो जीवन अनुभवलाई आधार मान्दै उनले खेलकुद क्षेत्रको विकासका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
उक्त कार्यक्रममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा करातेतर्फ प्रथम भएका झिमेमालिका माविका विद्यार्थी गौरव कोलीलाई पनि ५ हजार नगदसहित सम्मान गरेकाेे थियाे ।
साथै, झिमेमालिका माविले क्रिकेटर मल्ललाई ५ हजार नगद र कराते खेलाडी कोलीलाई १ हजार १ सय ५५ रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ भट्टले जानकारी दिए।
प्रतिक्रिया