दीपेन्द्रद्वारा एकै ओभरमा ६ छक्का प्रहार

काठमाडौँ —दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् । दीपेन्द्रले ओमानमा भइरहेको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्ध समूहचरणको खेलको अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।

पाँजलो न्युज
१ वैशाख २०८१ १३:०८
दीपेन्द्रद्वारा एकै ओभरमा ६ छक्का प्रहार

मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी केवल तेस्रो खेलाडी हुन् । यसअघि दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ को ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रो पटक हो । चीनको हाङचउमा गत वर्ष भएको १९ औं एसियाली खेलकुदमा दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउनेक्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने यो पहिलो पटक हो ।

दीपेन्द्रले कतारविरुद्धको खेलमा १९ बलमा अर्धशतक पुरा गरेका थिए ।

दीपेन्द्रले अविजित ६४ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १० रन बनाएको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *