धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई स्वतन्त्र सांसद डा. तारा जोशीले विश्वासको मत नदिने भएका छन् ।
‘सरकारमै भएका सांसदहरुले विश्वासको मत नदिने भएपछि मैले दिइरहनुपरेन। अहिले म काठमाडौंमै छु’, डा.जोशीले भने । बहुमत नपाउने निश्चित भइसकेका मुख्यमन्त्रीलाई आफूले विश्वासको मत दिन आवश्यक नरहेको उनले बताए ।
‘विश्वासको मत पाउने भए अर्को कुरा हुन्थ्यो, तर मलाई पनि सजिलै भयो’, उनले भने । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सातै जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएमा मुख्यमन्त्री शाहको पद जोगाउन जोशीको मत निर्णायक हुन्थ्यो। ५३ सदस्यीय प्रदेशसभामा कांग्रेससँग १९ र नाउपासँग ७ सिट छ । नाउपाका सबै सांसदले मत दिएमा एक सांसद अपुग हुन्थ्यो र स्वतन्त्र सांसद जोशीको मत लिएर सरकार जोगाउने मुख्यमन्त्री शाहको तयारी थियो ।
यो मत प्रदेशसभाको अल्पमत हो ।प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको बैठक आज ५ बजेका लागी सारिएको छ । बिहीबार मुख्यमन्त्री शाहका लागि विश्वासको मत लिने अन्तिम दिन हो ।सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ।
प्रतिक्रिया