( डोटी) डोटीको शिखर नगरपालिका बडा नम्बर २ कालागाडमा निःशुल्क कपडा बैङ्क सञ्चालनमा आएको छ ।
डोटीमा पहिलो पटक सञ्चालनमा आएको निःशुल्क कपडा बैङ्कको शनिवार शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले उद्घाटन गरेका हुन् ।
शिखर नगरपालिका पशु सेवा शाखामा कार्यरत कर्मचारी नारायण कठायतको अगुवाइमा कपडा बैङ्कको स्थापना भएको हो । बैङ्कको उद्घाटन गर्दै नगर प्रमुख बलायरले निःशुल्क रूपमा कपडा वितरण गर्ने कार्य उत्कृष्ट मानवीय कार्य भएकोले नगरपालिकाले आवश्यकता अनुसारको सहयोग गर्ने बताए । बैङ्कमा कपडाका साथै खाद्य, नगद तथा कपी किताब समेत सहयोग गर्न सकिने उनले बताए ।कार्यक्रममा बोल्दै नगर उपप्रमुख सुनिता रावलले विपन्न व्यक्तिहरूका लागि कपडा बैङ्क सहयोगी साबित हुने बताइन् ।
‘भएको दिएर जाऊँ, चाहिएको लगेर जाऊँ’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको कपडा बैङ्कमा सुरुमै ३२ जनाले कपडा सहयोग गरेका छन् भने १० जनाले कपडा लगेको बताइएको छ ।कपडा बैङ्क सञ्चालनका लागि स्थानीय रतन धामीले एउटा कोठा उपलब्ध गराएका छन् ।
प्रतिक्रिया