धनगढी- काठमाडौँमा सम्पन्न माओवादी स्थायी समिति बैठक बहिस्कार गरेका स्थायी समिति सदस्य खगराज भट्ट अन्ततः माओवादी परित्याग गर्ने सम्मको योजनामा पुगेका छन् । पहिला दिनमा स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा मानबहादुर धामीलाई वैधानिकता दिन र खगराज भट्टलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताएका थिए । प्रचण्डको उक्त प्रस्तावमा भट्टले ठाडै विरोध जनाए । ‘मेरो बलिदानीपूर्ण राजनीति जीवन र साङ्गठनिक जीवन सक्ने डिजाइनमा यो प्रस्ताव आयो । मेरो बााकी निर्णयबाट म स्वतन्त्र छु । प्रदेश सभामा राजीनामासम्म दिन सक्छु ’ भट्टले बैठकमै भने र निस्किए ।
पहिलो दिनको बैठकको आधाबाटै निस्किएका भट्ट दोस्रो दिनको बैठकमा गएनन् । आफूलाई माओवादी संसदीय दलको नेता र पार्टीको ठोस जिम्मेवारी दुबैबाट किनारा लगाएपछि उनी अहिले पार्टी छोड्ने सम्मको योजनामा पुगेका हुन् । भट्टले आफू निकटसँग यस विषयमा कुराकानी समेत गरेका छन् । लेखराज माओवादी सुदूरपश्चिम इन्चार्ज हुँदा खगराज सह–इन्चार्ज थिए। लेखराज एमाले भएपछि खगराज माओवादी सुदूरपश्चिम इन्चार्ज बने तर, उनको इन्चार्ज पद गत साउनमा खोसियो। माओवादीले चलाएको ‘गाउँ फर्क अभियान’का क्रममा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी माओवादी केन्द्रीय सचिव डिलाराम आचार्यलाई दिइयो । बुधवार स्थायी समिति बैठकले पदाधिकारीबाट इन्चार्ज तोक्दा भट्टलाई सहइञ्चार्जको जिम्मेवारी दिने अपेक्षा गरिएको थियो ।
तर, इन्चार्जको जिम्मेवारी उपमहासचिव गिरिराजमणि पोखरेल र सह–इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य बिना मगरलाई दिइयो । विना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । उनले बुधबारनै अध्यक्ष प्रचण्डलाई लिखित रूपमै चार प्रश्न गरेका थिए । ‘सुदूरपश्चिमको पार्टी सिद्ध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ, ’ भट्टले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका थिए । माघ १२ गते संसदीय दलको नेताबाट हटाइएका भट्टले आफू हुँदा हुँदै जुनिअरलाई सह इन्चार्ज बनाएपछि पार्टी छोड्ने मनस्थितिमा पुगेका उनी निकट नेताहरू बताउँछन् । ‘अब उहाँ यो अपमान सहेर पार्टीमा बस्नुहुन्न’ भट्ट निकट एक नेताले भने ‘हामीसँग पनि यस विषयमा गम्भीर छलफल गर्नु भएको छ । उहाँ पार्टी छोड्ने मुडमा हुनुहुन्छ ।’
डा। बाबुराम भट्टराई माओवादीमा हुँदा खगराज उनीनिकट थिए। लेखराज माओवादीमा हुँदा प्रचण्डनिकट भएर खगराजलाई चेपुवामा पारेका थिए। अहिले माओवादीमा उनी जनार्दन शर्मानिकट मानिन्छन् । उनलाई संसदीय दलको नेताबाट हटाउँदा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन गुट एकै ठाउँ देखिए । जनार्दन निकट नै रहेका अक्कल रावल पनि उनको पक्षमा देखिएनन् । भट्ट आफूलाई संसदीय दलको नेताबाट हटाइनुलाई बालुवाटारकै डिजाइनका रुपमा बुझ्छन् ।
‘उहाँले पार्टीमा ल्याउन पहल गर्ने र उचित जिम्मेवारी पनि हुने बताउनु भएको छ तर, उहाँ ९खगराज भट्ट०ले यस विषयमा आफ्ना केही निकटका कार्यकर्ताहरूसँग छलफल गरेर मात्रै निर्णय गर्ने भन्नु भएको छ’ ती नेताले भने ।खगराज भट्टले पनि आफूलाई एमाले शीर्ष नेताले पार्टीमा आउन आग्रह गरेको पुष्टि गरे । ‘हो उहाँहरूले फोन गरिरहनु भएको छ । एमालेमा आउन आग्रह गर्नु भएको हो’ भट्टले भने म हजारौँ , ‘लाखौँ कार्यकर्ताको विचार सल्लाह गर्छु भनेको छु ।’
उनले अहिले आफू अन्यायमा पारेको कुरा माओवादीको मात्रै चासो नभएर राष्ट्रिय चासोको विषय रहेको बताउँछन् ।अघिल्लो सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामीलाई नियुक्त गर्दादेखि नै विना मगर र खगराज भट्टबीच तिक्तता सुरु भएको थियो । त्यो बेला भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रीमा कञ्चनपुरका मानबहादुर सुनारको नियुक्तिलाई लिएर पनि भट्टले विरोध जनाएका थिए ।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुदूरपश्चिम प्रदेशको पार्टी नेतृत्वलाई जोकरफाल्तु बनाएर यहाँको पार्टी र संसदीय दलको चाहना र भावनालाई लत्त्याउँदै केन्द्रले लादेर गर्न लागेको प्रदेश मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया प्रति खेद व्यक्त गरौँ’
अहिले खगराज भट्टलाई हटाएर तीनै मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउन सुरुमा विना आफै सक्रिय थिइन् । पछि आफू इन्चार्ज बन्ने गरि खगराज ,प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र आफू सहितले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटिन् तर, भट्टको पद भने पुर्नवहाली भएन । बरु प्रचण्डले स्थायी समिति बैठकमै मानबहादुर धामीलाई वैधानिकता दिए ।







प्रतिक्रिया