डोटी,बास नेपालले डोटीमा दुई जना महिलाहरूलाई सम्मान गरेको छ ।
बालविवाह,नियमित खोपका बारेमा समुदायमा जनचेतना जगाउनुका साथै गर्भवती चेकजाँच,सुत्केरी चेकजाँचमा नियमितता गरेकोले डोटीको शिखर नगरपालिका १० का पवित्रा कुवर बलायर र साहाना बलायरलाई आइतबार एक कार्यक्रमका बिच सम्मान गरिएको बास नेपालका सामाजिक परिचालक सरिता कठायतले बताइन् ।
युनिसेफ नेपालको आर्थिक सहयोग शिखर नगरपालिकाको सहकार्य र बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत महिलालाई सम्मान गरिएको हो ।
बास नेपालले शिखर नगरपालिकामा सञ्चालन गरेका कार्यहरू प्रभावकारी रहेका शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । समाजमा रहेको कुरीति,अन्धविश्वासका विरुद्ध संस्थाले गर्दै आइरहेका जनचेतनामूलक कार्यक्रमले पालिकालाई महत्त्वपूर्ण सहयोग पुगेको समेत नगर प्रमुख बलायरले बताए ।
समाजमा जडा गाडेर बसेको सामाजिक कुरीतिहरूलाई न्यूनीकरण गर्न सम्बन्धित मानिसहरूलाई तालिम दिएर वा प्रत्येकको घरदैलोमा पुगेर जनचेतनामूलक जगाउने कार्य संस्थाको प्रभावकारी रहेको शिखर नगरपालिकाकी नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् ।
सम्मानित हुने दुबैजनालाई प्रति व्यक्ति रु ३ हजार ५ सय ७० र सम्मान पत्रले सम्मानित गरिएको छ । सम्मानित दुवै जनालाई नगर प्रमुख र उप प्रमुखले सम्मान गरेका थिए । बास नेपालले शिखर नगरपालिकामा कोभिडको खोप, नियमित खोप,जन्म दर्ता र बालविवाहका क्षेत्रमा काम गरिरहेको छ ।


प्रतिक्रिया