डोटी, डोटी जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिपायल सिलगढी नगरपालिकाले हात पारेको छ ।
दिपायल स्थित दिल्पेश्वर मठ खेलमैदानमा आइतबार देखि मङ्गलवार सम्म सञ्चालन भएको प्रतियोगितामा दिपायल सिलगढी नगरपालिकाले ३१ पदक सहित प्रथम भएको हो । दिपायल सिलगढीले २२ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्न सफल भएको छ । ३१ पदक नै जितेको जोरायल गाउँपालिका प्रतियोगितामा द्धितिय हुँदा आदर्श गाउँपालिका १५ पदक सहित तृतीय भएको छ । जोरायलले १० स्वर्ण, १३ रजत र ८ कास्य पदक तथा आदर्श गाउँपालिकाले ८ स्वर्ण, ६ रजत र एक कास्य पदक हात पारेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सहभागी अन्य शिखर नगरपालिकाले ७ स्वर्ण, ६ रजत र ९ कास्य सहित चौथो भएको छ भने बडीकेदार गाउँपालिका ५ स्वर्ण, १३ रजत र ३ कास्य सहित पाचौँ स्थानमा पुगेको छ । त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य सहित छैटौँ स्थानमा पुगेको छ भने सायल गाउँपालिकाले १ स्वर्ण १ रजत र ६ कास्य सहित सातौँ स्थानमा रहेको छ ।
त्यस्तै स्वर्ण विहीन रहेका दुई पालिका के.आइ.सिंह गाउँपालिकाले २ रजत र १ कास्य सहित आठौँ स्थानमा रहेको छ भने २ रजतमा मात्र सीमित रहेको पुर्विचौकी गाउँपालिका अन्तिम नबौ स्थानमा रहेको खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कतारे विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्ये बाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सहभागी गराइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
गत वर्ष सञ्चालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि दिपायल सिलगढी नगरपालिकाले नै जितेको थियो ।







प्रतिक्रिया