दिपायल- नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाड प्रकरणको अख्तियारले अनुसन्धान गर्ने भएको छ। दूरसञ्चार निर्देशनालय, अत्तरियाले अभिलेखमा कम तौल देखाएर बढी तामाजन्य कबाड विक्री गरेपछि अख्तियारले अनुसन्धान गर्ने भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख रमेश कुमार केशीले अख्तियारले अनुसन्धानको प्रक्रिया सुरु गरेको बताए। उनले भने, ‘टेलिकमको कबाडका विषयमा हामी अनुसन्धान गर्दैछौ। प्रमुख जिल्ला अधिकारी ज्यूले छानबिन समिति पनि बनाउनु भएको रहेछ। छानबिन समितिको प्रतिवेदन पनि मागेका छौ। हामी आफ्नो तरिकाले पनि अनुसन्धान गर्छौ। सबै क्षेत्रबाट सूचना सङ्कलन गर्ने काम हुँदैछ।’
टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम भनेर बिक्री गरेको कबाड २९ हजार एक सय ३० किलोग्राम फेला परेको थियो। एक करोड ३३ लाख १३ हजार तीन सय ७२ रुपैयाँ ३१ पैसा बढीको तामाजन्य कबाड टेलिकमले बढी दिएको देखिएको हो। टेलिकमले धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ। सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।
प्रतिक्रिया