डोटी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको अतिक्रमित भूमि कालापानी तथा लिम्पियाधुरा क्षेत्रकाे भ्रमण गर्ने भएका छन्।मोदी आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा पुग्ने बताइएको छ।तर, मोदी नेपाली भूमिमा आउँदा समेत नेपाली प्रशासनलाई कुनै जानकारी नगराइएको पाइएको छ । कैलाश पर्वतको दर्शनका लागि उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्न लागेका हुन्।तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले त्यसबारेमा कुनै जानकारी नगराइएकाे बताइन्।
‘हामीले पनि आउँदै हुनुहुन्छ भन्ने सुनेका छौँ तर आधिकारिक कुनै जानकारी छैन’, उनले भनिन् ‘त्यस क्षेत्रका विषयमा हामीलाई जानकारी गराइँदैन।’
बिहीबार उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँमा मोदीले भ्रमण गर्ने मात्र नभई त्यहाँका ३० जना स्थानीयवासीसँग भेटघाट र छलफल गर्ने कार्य तालिका रहेको छ । यस विषयमा पनि कुनै जानकारी नगराइएको सिडिओ जोशीले बताइन् ।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुग्ने बताइएकाे छ।मोदीले भ्रमण गर्न लागेको गुञ्जी क्षेत्र रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समावेश गरेको छ।
प्रतिक्रिया