भूकम्पले डडेल्धुरा र बाजुरामा पनि क्षति

पाँजलो न्युज
१७ असोज २०८० ५:१५
भूकम्पले डडेल्धुरा र बाजुरामा पनि क्षति

बझाङ- मंगलबार दिउँसो आएको बझाङ केन्द्रविन्दु भएको भूकम्पले बाजुरा र डडेल्धुरामा पनि क्षति पुगाएको छ ।

बाजुरामा भूकम्पका कारण २ जना घाइते भएका छन् । आफ्नै घरको आँगनमा खेलिरहेका बडिमालिका नगरपालिका–९ का ८ वर्षिया प्रलोप डिजीे छतबाट खसेको ढुंगा लागेर घाइते भएका छन् भने खप्तड छेडेदह गाउँपालिका ४ का सुन्दर सार्की विद्यालयको सिढीबाट लडेर घाइते भएका बाजुरा प्रहरीले जनाएको छ ।

भूकम्पका कारण बाजुरामा १ दर्जन बढी घरहरू भत्किएको प्रहरीले जानकारी दिएको छ । बडिमालिका–९ का जित चदाराको २ तले घर र सोही वडाका भुपेस सनाईको घरमा आंशिकरूपमा क्षति भएको छ ।

खप्तड छेडेदह–७ का लालबहादुर ओली र दिनेश ओलीको घरको पछाडी भाग भत्किएको छ । बुढीगंगा नगरपालिका ६ सायलका भक्त गिरी, वडा नम्बर १ का मनविर रावलको घर, चन्द्र रावलको भैंसी बाध्ने छानो, वडा नम्बर ५ का दल शाह र वडा नम्बर ४ का बल कटुवालको घर पनि आंशिक रुपमा भत्किदा जोखिममा परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बुढीगंगा नगरपालिका–५ मा रहेको टाटे स्वास्थ्य चौकीको प्रसुती भवनको पानी राख्ने ट्याङकीको वाल भत्किएको छ भने पानी तताउने सोलावर प्यानल क्षति भएको छ ।

भूकम्पका कारण बुढीगंगा नगरपालिका–७ का चक्र केसी बुढिगंगा नगरपालिका–९ का कोकिला सिंह, पदमबहादुर सिंहको घर पूर्ण रूपमा क्षति भएको र वडा नम्बर ६ का नविन गिरीको घर पनि चर्केको प्रहरीले जानकारी दिएको छ ।

डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको १, गन्यापधुरा गाउँपालिकाका २ र नवदुर्गा गाउँपालिकाका ४ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रहरीका अनुसार नवदुर्गा गाउँपालिका–३ का २ वटा घर, वडा नम्बर ४ का पनि २ वटा घरमा क्षति पुगेको छ ।

अमरगढी नगरपालिका–७ ऐरी गाउँस्थित कोलगडामा एउटा घर भत्किएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बझाङमा त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *