काठमाडौं- प्रहरीले दाहसंस्कार गर्न लागिएको शव चिताबाटै उठाएर नियन्त्रणमा लिएको छ। सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वामा २१ वर्षीया मनिषा साहको शव दाहसंस्कार गर्न लागिएको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्न अस्पताल लगेको हो।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारका अनुसार हिजो मृत्यु भएकी मनिषाको शव आज दाहसंस्कार गर्न लगिएको थियो।तर, कानूनी प्रक्रिया पूरा नगर्रिएको भन्दै प्रहरीले चिताबाट शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको जनाएको छ।
मनिषाको मृत्युको कारण नखुलेको र माइती पक्षले हत्या भएको भन्दै छानबिन गरिदिन भनेपछि प्रहरीले शव नियन्त्रणमा लिएको पञ्जियारले जानकारी दिनुभयो। हत्या भएको आरोप लागेपनि माइती पक्षले कारणबारे केही नभनेको पञ्जियारको भनाई छ।
मनिषाको शरीरमा निलडाम रहेकोले मृत्यु शंकास्पद देखिएको डीएसपी पञ्जियार बताउनुभयो। प्रहरीले मनिषाका श्रीमान सुनिल साह, ससुरा र देवरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।







प्रतिक्रिया