डोटी– गत सोमबार केआईसिंह ७ चौडका दीर्घ बहादुर भण्डारी घरमै थला परे । ७६ वर्षीय भण्डारीको मुखबाट रगत आयो । परिवार र आफन्त अत्तालिए । तर उनलाई तत्कालै अस्पताल लग्न सक्ने अवस्था रहेन । सुविधा सम्पन्न राजपुर बजार ६ किलोमिटर नजिक हुँदा पनि गाडीको व्यवस्था गर्न सकिएन । स्थानीयले तत्कालै स्टेचरमा बोकेर राजपुर स्थित सुजङ्ग अस्पताल पुर्याए । ‘तुरुन्तै प्राथमिक उपचार गरी उहाँको धनगढी रिफर गरिदियौँ’, सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले भने, ‘धन्न भाग्यले उहाँ जोगिनु भयो नत्र ज्यान खतरामा थियो ।’
भण्डारी एक उदाहरण मात्र हुन् । लामो समयदेखि बर्षातमा बिग्रेको सडक मर्मत सम्भार नहुँदा केआइसिंह गाउँपालिका वडा नं. ६ र ७ का सलेनाबासी यातायात सेवाबाट वञ्चित भएका छन् । सलेनाका योगेन्द्र भण्डारीले ३ महिनादेखि सो सडक खण्डमा गाडी नगुडेको दुखेसो सुनाए । ‘पटक पटक मर्मर र सुधारका लागि सम्बन्धित निकायलाई सोध्यौँ तर कसैले सुनुवाइ गरेनन्’, उनले आक्रोश पोख्दै भने, ‘बिरामी समेत बोकेर ल्याउने गोरेटो बाटो सम्म राम्रो छैन ।’
खुटिया–विपीनगर–दिपायल फाष्ट ट्र्याक अन्तर्गत पर्ने सो सडक खण्ड सरकारबाट प्राथमिकतामा नपरेपछि त्यसको सबैभन्दा बढी सास्ती सलेनाबासीले भोग्दै आएका छन् । ‘फाष्टट्रयाकमा पर्ने भनेर संघ र स्थानीय सरकार चासो राख्दैनन्’, केआइसिंह ७ चौडका एक स्थानीयले दुखेसो गरे, ‘फाष्टट्रयाक बनाउन प्रदेश सरकारले प्राथमिकता नै दिँदैन, यही पेलाइको मारमा सलेनाबासी वर्षौँदेखि दुःख पाउँदै आएका छौँ ।’ फाष्टट्रयाक बन्ला र सुखका दिन आउलान् भन्ने कल्पना सपना बनेको स्थानीय रमिता विकले बताइन् ।
वडा नं. ७ का वडाध्यक्ष दिल बहादुर बलायरले सडक मर्मतमा पालिका र प्रदेश सरकारले चासो नदिएको आरोप लगाए । उनले स्थानीयबाट वडा कार्यालयमा आएर दैनिक गुनासो आइरहेपनि माथिल्लो तहबाट चासो नदिँदा गाली खानुपरिरहेको दुखेसो सुनाए । ‘चौडका बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गर्छु भनेर धम्की दिइरहनु भएको छ, उहाँहरूको दुखेसो स्वाभाविक हो’, वडाध्यक्ष बलायरले भने,‘मैले मात्र चाहेर केही नहुँने भएकाले सबैलाई सडक मर्मतका लागि सहयोग गर्न आग्रह गर्छु ।’
राजपुर व्यारेकदेखिनै सलेनासम्मको ९ किलोमिटर सडक क्षतविक्षत रहेको छ । सलेनाका स्थानीय अर्जुन बलायरले अहिले सो सडकको विकल्पका रूपमा उकालो, घुमाउरो र अप्ठेरो रहेको फन्नी – राजपुर सडक, चौड–व्यारेक गोरेटो बाटो प्रयोग भइरहेको बताए । ‘गाडीमा आउनेहरू फन्नी हुँदै आउँछन् जुन अप्ठेरो छ’, बलायरले भने, ‘हिँडेर आउनेहरू चौड–व्यारेक गोरेटो बाटो प्रयोग गर्छन् ।’ गोरेटो बाटो पनि जोखिमपूर्ण रहेको उनले बताए ।
खुटिया विपीनगर दिपायल सडक आयोजनाका इञ्जनियर दिनेश रैखोलाले यसबर्ष सो २५ करोड रुपैयाँ विनियोजित भएकाले राजपुरबाट नै काम अगाडी बढाउने गरी तयारी भइरहेको बताए । उनले सरकारबाट नै माग अनुसारको बजेट नआउँदा काम हुन नसकेको स्विकार्दै सलेनाबासीले भोग्दै आएको समस्या केहीबर्षभित्रमा टर्ने जवाफ दिए ।
गाउँपालिकाले डोजर पठाउँदै
राजपुर सलेना सडक खण्डमा बिग्रेको सडक मर्मत तथा सुधारका लागि केआईसिंह गाउँपालिकाले डोजर पठाउने भएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले शुक्रवार नै डोजरमा इन्धन भरेर सलेनातर्फ पठाइएको जानकारी दिए ।
डोजरको अन्यत्र काम भइरहेकाले केही ढिलाइ हुँदा स्थानीयले सास्ती भोग्नु परेको प्रति क्षमा माग्दै अध्यक्ष शाहीले केही दिनभित्रै गाडी सुचारु हुने गरी काम सकिने उनले बताए । स्थायी समाधानका लागि दिपायल फाष्टट्रयाक तत्काल कालोपत्रे गर्नुको विकल्प नरहेको अध्यक्ष शाहीले बताए ।
प्रतिक्रिया