(डोटी) केआइसिंह गाउँपालिकाले लैगिंक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ । कोष सञ्चालनका लागि कार्यविधि पारित गर्ने सन्दर्भमा मङ्गलवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहमति भएको छ ।
हिंसामा परेका महिलाहरूको उद्धार, उपचार तथा पुर्नउत्थानमा सहयोग पु¥याउने उद्देश्यले कोषको स्थापना गर्न तयार रहेको उपाध्यक्ष मिना विष्टले प्रतिबद्धता गरेकी छन् । ‘आउने कार्यसमिति बैठकबाट कार्यविधि पारित गरेर तत्कालै कोष खडा गरिनेछ’, उपाध्यक्ष विष्टले भनिन्, ‘कोषले हिंसा पीडित महिलाहरूको उद्धार र पुनर्स्थापनामा ठुलो राहत पुग्ने अपेक्षा लिएकी छु ।’
मङ्गलवार वायलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले कार्यविधि अभावमा न्यायिक प्रक्रिया र हिंसा पीडित महिलाहरूको पुनर्स्थापनामा समस्या आइरहेकोमा जोड दिएका थिए । कार्यक्रममा उपाध्यक्ष मिना विष्ट, वडाध्यक्षहरू कृष्ण बहादुर बम, कृष्ण प्रसाद जैसी, डिल बहादुर बलायर , प्रमुख प्रशासकीय अधिकृत सुरत बहादुर परियार , कार्यपालिकाका सदस्य, न्यायिक समितिका सदस्य, विभिन्न वडाबाट महिला अगुवाहरू लगायतको सहभागिता रहेको थियो ।
लैगिंक हिंसा निवारण कोषको कार्यविधीबारे पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले सहजीकरण गरेका थिए ।
२०६७ सालमा लैगिंक हिंसा निवारण कोषको स्थापना गर्ने सन्दर्भमा मन्त्री परिषदबाट निर्णय भएको थियो । यद्यपि २०७६ सालमा संघिय संरचना अनुसार ३ वटै तहका सरकारहरूमा कोष खडा गर्ने गरी कार्यविधि संशोधन गरेको भए पनि अधिकांश पालिकाहरूले कार्यान्वयन भने गरेका छैनन् । हरेक वर्ष संघिय सरकारले लैगिंक हिंसा निवारण कोषका लागि वार्षिक एक लाख रुपैयाँ दिँदै आए पनि कार्यविधि अभावमा सदुपयोग हुन सकेको छैन ।
मङ्गलवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा सम विकास केन्द्र (इडिसी) ले सहयोग गरेको थियो । डोटीको केआइसिंह गाउँपालिका, शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा इडिसीले एक्सनएडको सहयोगमा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत विभिन्न कार्यहरूमा सहयोग गर्दै आइरहेको छ । इडिसीका कार्यक्रम संयोजक नरेन्द्र विकले लैगिक हिंसा न्यूनीकरण कोष स्थापनाका लागि तीन वटा पालिकाहरूमा पैरवी गर्दै आइरहेको बताए । उनले कोषका लागि संघिय सरकारबाट आएको रकममा पालिकाले समेत बजेट थप गरेर हिंसा पीडित महिलाहरूलाई विभिन्न सहयोग गर्न सकिने प्रावधान रहेको बताए ।
प्रतिक्रिया