डोटी- लम्पी स्किनले सुदूरपश्चिममा ठूलो क्षति गरे पनि अहिलेसम्म प्रदेश सरकारले खोप किन्ने पैसा जुटाउन सकेको छैन ।
प्रदेश सरकारको पछिल्लो तथ्यांकअनुसार लम्पी स्किनबाट प्रदेशमा २१ हजारभन्दा बढी गाइबस्तु मरेका छन् भने ६ लाख गाईगोरु जोखिममा रहेका छन् ।
अहिलेसम्म ३७ करोड रुपैयाँभन्दा बढीको क्षति भइसकेको प्रदेशको दिपायलस्थित पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
तर, सुदूरपश्चिम प्रदेश सरकारले लम्पी स्किनबाट हुने थप क्षति रोक्न १४ करोड रुपैयाँको जोहो गर्न सकेको छैन ।
निर्देशनालयका निमित्त निर्देशक डा. पानसिंह ठगुन्नका अनुसार खोपका लागि बजेट व्यवस्था हुन सकेको छैन ।
प्रदेशमा अझै १४ लाख बढी गाइगोरु, बाच्छाबाच्छी, राँगा भैंसी र पाडापाडी जिउँदा छन् । तीमध्ये करिब ६ लाख मात्र लम्पी स्किनबाट अछुता छन् । ती अछुता चौपाया बचाउनसमेत सरकारले ठोस कदम चालेको छैन ।
रोग नियन्त्रण गर्न अहिलेसम्म जम्मा ६ सय ५० चौपायालाई मात्रै लम्पी स्किनविरुद्धको खोप दिइएको छ ।
कञ्चनपुरका २५, बैतडीका ३ सय र बाजुराका ३ सय २५ चौपायालाई मात्रै खोप दिइएको छ ।
प्रतिक्रिया