दार्चुला- दार्चुलामा गत वर्ष वर्षातका कारण मह उत्पादनमा कमी आएको छ । जिल्लामा व्यवसायीक मह उत्पादन बढ्न थाले पनि गत वर्ष मह उत्पादन हुने बेला वर्षा भएपछि मह उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ४८ मेट्रिक टन मह उत्पादन भएकोमा गत वर्ष ४६ टन मात्रै मह उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए ।
मह उत्पादन हुने बेला असोज र कार्तिक महिनामा लामो वर्षाका कारणले मह उत्पादनमा कमी आएको उनले बताए । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाभरीका पाँच हजार ७५० वटा माहुरी सहितका घारहरू वितरण गरेको जनाएको छ । त्यस्तै गत आर्थिक वर्षमा कार्यालयले पाँच हजार ९१० वटा माहुरी सहितको घार वितरण गरेको जनाएको छ ।
मह उत्पादक किसानहरूले प्राविधिक सहयोग पाउन थालेपछि जिल्लामा मह उत्पादन व्यावसायिक रूपमा बढ्न थालेको भए पनि मौसम प्रतिकुल बन्दा सोचेअनुसारको मह उत्पादन हुन नसकेको बताइएको छ । जिल्लाभरि करिब अहिले ६ हजार आधुनिक घार र मुणेघारबाट किसानहरूले मह उत्पादन गर्दै आएका छन् ।
जिल्लाका सबै स्थानीय तहमा मह उत्पादन हुने भए पनि मुख्य गरी जिल्लाको लेकम, मालिकार्जुन, मार्मा गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा मौरी पालन व्यवसाय फस्टाउँदै गएको छ । गत वर्ष मात्रै विभिन्न स्थानीय तहमा उत्पादन भएको मह विक्रीबाट किसानहरूले आम्दानी बढाएका छन् ।
अझै मह उत्पादनमा स्थानीय तहहरूले आधुनिक मौरी घार र प्राविधिक सहयोग पाए किसानलाई उत्पादनमा सहजता आउने अपेक्षा गरिएको छ । जिल्लामा अहिले उत्पादन भएको मह १२ सयदेखि माथि विक्री वितरण हुने गरेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया