धनगढीः तराई–हिमाल जोड्ने महाकाली करिडोर निर्माणको काम निकै सुस्त देखिएको छ। त्रिदेशीय नाकाको रुपमा अघि बढाइएको सो सडक निर्माणको गति प्रभावकारी बन्न सकेको छैन्। कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा–बैतडी र दार्चुलाको तिंकरसम्म चार सय १३ किलोमिटर सडक २०६६ देखि सुरु गरिएको भए पनि काम अपेक्षाकृत रुपमा हुन नसकेको स्थानीय बताउँछन्।
नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको सो सडक निर्माणको प्रगति सन्तोषजनक छैन। चार सय १३ किलोमिटरमध्ये एक सय २० किलोमिटर सडकखण्डको ट्रयाक खोल्न बाँकी नै रहेको महाकाली करिडोर आयोजनाले जनाएको छ। कञ्चनपुरमा १०, डडेल्धुरामा ३०, बैतडीमा ५५ र दार्चुलामा २५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ। डडेल्धुरामा रूख कटानको अनुमति नहुँदा काम अघि बढ्न सकेको छैन।
दार्चुलाको खलंगादेखि दुहुँ गाउँपालिकाको पीपलचौरी खण्ड र महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिकाको जोलजीवी–उकु खण्डमा कालोपत्रका लागि ठेक्का सम्झौता भएको छ। करिब ३२ किलोमिटरको सडकखण्ड कालोपत्रे गर्न एक अर्ब ३५ करोडको ठेक्का सम्झौता गरिएको छ।
करिडोरअन्तर्गतको सुन्सेराको तुषारपानीदेखि तिंकर भन्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणको काम आव २०७८/७९ बाट नेपाली सेनाले थालेको छ। उक्त सडकखण्डमा चालू आर्थिक वर्षमा सेनालाई १४ करोड बजेट उपलब्ध गराएको छ। गत वर्ष ९ करोड ३० लाख ३० हजारमा तिंकर सडक निर्माणका लागि सेनालाई दिइएको थियो। आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो।






प्रतिक्रिया