(डोटी) – केआइसिंह गाउँपालिका वडा नं. २ तिखात्तरका युवाहरूले सोमबार चिल्कीमोड देखि लेकगडासम्मको सडक सुधार गरेका छन् । युवाहरूको समुह आइतबारदेखि श्रमदानमा खटिएको छ ।
श्रमदानमा खटिएका युवा प्रकाश रावलले राजपुर–चवराचौतारा सडक बर्सातका कारण ठाउँ ठाउँमा बिग्रँदा बोलेरो जिप, ट्याक्टर, मोटरसाइकलहरू फस्ने भएकाले युवाहरूको समुह सडक सुधारमा खटिएको बताए । ‘सुरुको दिन चिल्की मोडमा करिब ३० मिटर जति ढुङ्गाले सोलिङ्ग गरेर बनायौँ’, प्रकाश रावलले पाँजलो अनलाइनलाई भने, ‘मोड माथि लेकगडासम्म बिग्रिएका ठाउँमा हिजो र आज माटो ढुङ्गाले खाल्डाखुल्डी पुरेर सुधार गरेका छौँ ।’ उनले मौसमले साथ दिएमा वडा नं. १ मा पर्ने महादेउ देखि ध्याडी खोलासम्मको खण्ड सुधार गरिने बताए ।

वडा नं. २ का युवाहरू स्वतन्त्ररुपमा श्रमदानमा खटिएको बताउँदै आएका छन् । कसैको सिको वा प्रभावमा नपरी गाउँ ठाउँको विकास निर्माणमा सहभागी हुन निरन्तर श्रमदान गर्ने युवाहरूले प्रतिबद्धता गरेका छन् ।
श्रमदानबाट केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा तुस्यात खोला र वडा नं. २ का युवाहरू तिखात्तर क्षेत्रमा श्रमदानबाट काम गरिरहेका छन् । आइतबार भने वडा नं. ६ र ७ का स्थानीयले पनि भूमीराजमाण्डौं सलेना फलेडी राजपुर सडक श्रमदानबाट सुधार गरेका थिए ।
पछिल्लो समय केआईसिंहमा पालिका स्तर देखि वडा स्तरमा भइरहेका श्रमदान अभियानको सर्वत्र चर्चा भइरहेको छ ।
प्रतिक्रिया