(डोटी)– तुस्यात खोलामा जारी श्रमदान अभियान तीव्र गतिमा अघि बढ्दै गएको छ । सोमबार श्रमदानमा एक सय भन्दा बढी मानिसहरूको सहभागिता रहेको थियो । सोमबार केआइसिंह गाउँपालिका वडा नं. ४ को चन्केसैन गाउँका श्रमदाताहरूको उलेख्य सहभागिता रहेको थियो । यद्यपि तिखात्तर, वायल, रानागाउँ, सलेना, बासुदेवी, लोली क्षेत्रबाट पनि दिनहुँ श्रमदानमा सहभागिता जनाउने क्रम जारी छ ।

तुस्यात खोलामा श्रमदान गर्दै केआइसिंह वडा नं. ७ का पूर्व वडाध्यक्ष हर्क बहादुर बिष्ट र नेपाली कांग्रेसका यूवा नेता लाल बहादुर कठायत ।
केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा गत सोमबारबाट सुरु श्रमदान अभियानमा जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ता, पत्रकार, व्यापारी, सर्वसाधारण लगायतको उपस्थिति रहँदै आएको छ ।
८७ मिटर लामो आरसिसी ढलान गर्ने स्टीमेट रहे पनि सोमबार श्रमदाताहरूको माग अनुसार एक सय ३० मिटर लामो खण्डमा काम हुने भएको छ । सोमबारसम्म ढुंगाको सोलिङ्ग गरी सरियाको जाल बिछ्याइ सकिएको अध्यक्ष शाहीले बताए । उनले मङ्गलवार बिहानैबाट ढलान कार्य हुने भएकाले इच्छुक श्रमदाताहरूलाई तुस्यात खोलामा आइ सहयोग गरिदिन अनुरोध गरेका छन् । ढलानका लागि गिट्टी बालुवा र सिमेन्ट लगायतका सामाग्रीहरूको बन्दोबस्त गरिसकेकाले मंगलबार बिहान ८ बजेबाट नै काम सुरु हुने अध्यक्ष शाहीले जानकारी दिए ।


केआईसिंह गाउँपालिका वडा नं. ७ का पूर्व वडाध्यक्ष हर्क बहादुर विष्टले दिनहुँ श्रमदाताहरूको सङ्ख्या बढ्दै गएकाले अभियानलाई हौसला मिल्दै गएको बताए । ‘आइतबारसम्म स्वलिङ्गको ८० प्रतिशत काम पुरा भएको थियो’, पूर्व वडाध्यक्ष विष्टले भने, ‘सोमबार दिनभर सरियाको जाल बिछ्याउने र बाँकी ठाउँमा सोलिङ्ग गर्ने काम गरियो ।’
जिल्ला समन्वय समिति सदस्य नरेश बहादुर खड्काले मौसमले साथ दिएमा मङ्गलवार नै ढलानको काम सक्ने तयारी भइरहेको बताए । उनले स्रोतसाधन र मौसमले साथ नदिएमा मात्रै बुधवारसम्म काम लम्बिन सक्ने जानकारी दिए ।
केआईसिंह गाउँपालिकाको वडा नं. ५ र दिपायल सिलगढी नगरपालिकाको वडा नं ४ को सिमानामा पर्ने तुस्यात खोलामा पुल नहुँदा सवारीसाधनहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो ।
केआइसिंह २ तिखात्तरका समाजसेवी तथा युवा नेता जीवन जेठाराले इच्छुक सम्पूर्ण युवाहरूलाई मङ्गलवार हुने श्रमदानमा सहभागी हुन अनुरोध गरेका छन् । ढलान एकै दिन गर्न सके गुणस्तरीय पनि हुनेछ’, उनले भने, ‘मौसमले साथ नदिएमा खोलामा गरिएको सोलिङ्ग र सरियाको जाल पनि बगाउने सम्भावना छ, तसर्थ बढीभन्दा बढी युवाहरूको श्रमदान मङ्गलवारका लागि बढी आवश्यक महसुस भएको छ ।’

प्रतिक्रिया