(डोटी)– श्रमदानबाट तुस्यात खोलामा बिग्रेको सडक खण्ड निर्माण कार्य सुरु भएको छ । केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा सोमबारबाट सुरु सडक निर्माण कार्यमा जनप्रतिनिधि, कर्मचारी , राजनैतिक दलका नेता कार्यकर्ता, पत्रकार, व्यापारी लगायतको उपस्थिति रहेको छ ।
केआईसिंह गाउँपालिकाको वडा नं. ५ र दिपायल सिलगढी नगरपालिकाको वडा नं ४ को सिमानामा पर्ने तुस्यात खोलामा पुल नहुँदा सवारीसाधनहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो ।
पालिका अध्यक्ष शाहीले तुस्यात खोलानिर बिग्रिएको कच्ची सडकमा आवतजावत गर्दा थुप्रै दुर्घटना भइरहेकाले श्रमदानबाट आरसिसी ढलानका लागि श्रमदान गरिरहेको बताए । राजपुर देखि वायलसम्म कालोपत्रे सडक भए पनि तुस्यात खोलामा रहेको जोखिम देखाउँदै यातायात व्यवसायीहरूले चर्को भाडा असुलिरहेकाले सडक निर्माण पछि सो समस्या समाधान हुने अध्यक्ष शाहीको भनाई छ ।
सो सडक खण्ड निर्माणका लागि प्राविधिकहरूले १५ लाख बराबरको अनुमानित खर्चको लागत निकालेका छन् । ८७ मिटर लम्बाई रहेको सो सडक खण्डमा ३ मिटर चौडाइ आरसिसी ढलान गरिने बताइएको छ । विभिन्न योजनाहरूमा उपभोक्ता समितिबाट श्रमदान अनिवार्य गर्ने कानुनी प्रावधान रहे पनि पछिल्लो समय कागजमा मात्र श्रमदान देखाउने गरिएको छ । श्रमदान गरी गाउँघर बाटोघाटो बनाउने पुरानै संस्कृति हो’, केआइसिंह ४ का तारा प्रसाद भट्टले भने, ‘पालिकाले सोही संस्कृति जगाउन थालेको अभियानमा खुसीसाथ सुरुकै दिनबाट सक्दो साथ दिइरहेको छु ।’ उनले श्रमदान गर्ने कानुनी प्रावधानलाई कडाइसाथ कार्यान्वयन गर्नुपर्ने समेत पालिकालाई सुझाव दिएका छन् ।
गाउँपालिका अध्यक्ष शाहीले श्रमदान अभियान सँगै पालिकाको फजुल खर्च समेत कटौती गरिने प्रतिबद्धता गरे । औपचारिक कार्यक्रममा खादा माला लगाउने, तडकभडक गर्ने तथा कार्यालयमा बोतलका पानी पिउने जस्ता फजुल खर्च हटाउन पालिकाले यस अघि नै निर्णय गरी कार्यान्वयन थालिसकेको शाहीले जानकारी दिए ।
पालिकामा भएका विभिन्न गतिविधि तथा कार्यसम्पादनबारे सामाजिक सञ्जालहरूमा भइरहेका टीकाटिप्पणीबारे सङ्केत गर्दै अध्यक्ष शाहीले कुनै गुनासो र जिज्ञासा भए साउन १८ गते गर्न गईरहेकोे सार्वजनिक सुनुवाइमा स्पष्ट पारिने बताए । कतिपय सुझाव सल्लाह सकारात्मक र आफूहरूले सुधार गर्नु पर्ने भए पनि कतिपय अतिरञ्जित एवम् पूर्वाग्रही रहेको भन्दै खण्डन समेत गरे । गत आ.व.को बजेट फ्रिज भएको प्रसङ्ग देखि कार्यकर्तामुखी योजना तथा अनियमितता विषयमा सार्वजनिक सुनुवाइमा आएर सवाल गर्न आफूलाई आग्रह गर्दै शाहीले एक एक गरी केआईसिंहबासीलाई जवाफ दिन तयार रहेको शाहीले बताए ।
तुस्यातपछि सेलपाखा–दोगाड पैदल मार्ग निर्माण
सो सडक खण्ड निर्माण पछि वडा नं २ स्थित सेलपाखा देखि वडा नं १ मा रहेको दोगाडसम्मको पैदल मार्ग निर्माण गरिने गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले घोषणा गरेका छन् । बिधार्थीहरूलाई विद्यालय आवतजावत गर्न तथा विभिन्न कामका लागि डुम्राकोेट एवम् पालिका सदरमुकाम वायल जाने पैदल यात्रीलाई पैदल मार्ग नहुँदा कठिनाइ भइरहेकाले सो पैदल मार्ग बनाउन लागिरहेको अध्यक्ष शाहीले बताए ।
उनले आफ्नो कार्यकाल भरी अत्यावश्यक योजनाहरू श्रमदान गरेर निर्माण गर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया