बैतडीमा दुई वर्षको अवधीमा ८२ जना महिला-बालबालिका हराए

पाँजलो न्युज
१४ साउन २०८० ६:२८
बैतडीमा दुई वर्षको अवधीमा ८२ जना महिला-बालबालिका हराए

बैतडी- बैतडीमा दुई वर्षको अवधीमा ८२ जना महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ र ०७९÷०८० मा ८२ जना महिला तथा बालबालिकाहरू हराएका हुन् । हराउनेमा सबै भन्दा धेरै महिलाहरू रहेका छन् ।

जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा ७२ महिला, २१ बालिका र १० बालक हराएकाले आफन्तले खोजी कार्यका लागि भन्दै प्रहरीलाई खबर गरेका थिए । ती मध्ये ३९ महिला, ९ बालिका र एक बालक भेटिएका छैनन् । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ४० महिला, २६ बालिका, १२ बालक हराएको भन्दै आफन्तहरूले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ती मध्ये १७ जना महिला, बालक ६ र बालिका १० जना भेटिएका छैनन् । उनीहरूको खोजी कार्य जारी नै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

खुला सिमानाका कारणले गर्दा पनि जिल्लामा महिला तथा बालबालिकाहरू हराउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले रोजगारीका लागि घरबाट भागेर भारत जाने र उतै काम गरिरहेको हुनाले नभेटिने गरेको बताउनुभयो ।

बैतडी भारत सँग सीमा जोडिएको जिल्ला भएकाले  झुलाघाट नाकामा चेकजाँचमा कडाइ गर्ने गरेको उहाँको भनाई छ । भारत जान लागेकाहरूको रोकेर पनि झुलाघाट नाकाबाट उद्धार गरेको शाहीले बताउनुभयो । हराएपछि खोजीकार्यका लागि प्रहरीमा निवेदन दिने र फेला परेपछि खबर नगर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *