टेलिफोन नेटवर्कको सास्ती

वायल क्षेत्रबासी असारभित्रै टेलिफोनको सास्तीबाट मुक्ति पाउँदै

केआइसिंह सरकारले गर्‍यो वडा नं. ३ खडलेक डाँडास्थित टेलिकमको टावरसम्म विद्युत बिस्तार

पाँजलो न्युज
१६ असार २०८० १:२६
वायल क्षेत्रबासी असारभित्रै टेलिफोनको सास्तीबाट मुक्ति पाउँदै

(डोटी)- सूर्य उदाउनु अघि र घाम अस्ताएपछि केआइसिंह गाउँपालिकाको वायल क्षेत्रका बासिन्दाका लागि सकसपूर्ण समय हो । वडा नंं. ३ मा पर्ने खडलेक डाँडा स्थित नेपाल टेलिकमको टावरले काम गर्नै छोडेपछि त्यस क्षेत्रका बासिन्दा टेलिफोन सेवाबाट बञ्चित हुनुपर्ने बाध्यता छ । पानी परोस वा बादल लागोस फोन सेवा अवरुद्ध हुने भएपछि स्थानीयवासी हैरान भएका थिए । सोही विषयलाई लिएर पटक पटक केआइसिंह सरकारको आलोचना समेत हुँदै आएको थियो ।

तर अव भने स्थानीयले सो समस्याबाट राहत पाउने भएका छन् । केआइसिंह गाउँपालिकाले खडलेक डाँडामा रहेको नेपाल टेलिकमको टावरसम्म विद्युत लाईन बिस्तार गर्ने भएपछि वर्षौँदेखिको समस्या समाधान हुन लागेको गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिए । स्थानीयको जनगुनासो आउन थालेपछि गाउँपालिकाले टावरसम्म विद्युत विस्तार गरिसकेको शाहीको भनाइ छ । ‘विद्युत प्राधिकरण र नेपाल टेलिकमलाई विद्युत विस्तारका लागि संयौ पटक आग्रह र लिखित पत्राचार गर्दा पनि सुनुवाइ भएन’, अध्यक्ष शाहीले भने, ‘ संचार मन्त्रालयसम्म पुगेर पनि मन्त्रीलाई समस्याबारे जानकारी गरायौं वास्ता भएन । अन्तः पालिकाले नै लगानी गरेर टावरसम्म विद्युत बिस्तार गर्‍यौं ।’ वडा नं. ३ का वडाध्यक्ष राम बहादुर कुँवरले असारभित्र सेवा सुचारु हुने दाबी गरेका छन् ।

टावरसम्म विद्युत विस्तार नहुँदा त्यहाँ रहेको सोलारले घाम लाग्ने समय बाहेक अरुबेला काम गर्न छाड्ने गरेको थियो । गाउँपालिकाले कापडी गाउँबाट ९ वटा पोल गाडेर करिब ढाई किलोमटर तार तानिसकेको निर्माण व्यवसायी तेज बहादुर बोहराले बताए । उनले ट्रान्समिटर जडान गरेर रिचार्ज गर्ने बितिक्कै टावरमा विद्युत प्रवाह गर्न सकिने विश्वास दिलाए । ‘ सम्पूर्ण काम भइसकेको छ , ट्रान्सफर्मर ल्याएर चार्ज गरेपछि लाइन छोड्न सकिन्छ यो एकदिनको काम हो’, बोहराले बताए ।

नेपाल टेलिकमको प्रदेश कार्यालय अत्तरियाका अधिकृत सुरत मल्लले गाउँपालिकाको सहयोगमा विद्युत विस्तार भइसकेको र टेलिकमले ट्रान्सफर्मर खरिद गरिसकेको भएपनि थोरै जनशक्तिका कारण जडान गर्न नसकिएको बताए । ‘केही दिनअघि डोटीमा ट्रान्सफर्मर जडान गर्ने भन्ने कुरा थियो तर अकस्मात् टोली अन्यत्र जानु पर्ने बाध्यता भएर ढिलाइ भयो’, मल्लले भने, ‘सम्भवतः असार महिनाभित्रै जडान गरिसक्छौं ।’

नेपाल टेलिकम र विद्युत प्राधिकरण एक अर्कालाई दोषारोपण गर्दै टावरसम्म विद्युत विस्तार गर्ने जिम्मेवारीबाट पन्छिदै आएका थिए । विद्युत प्राधिकरणले नेपाल टेलिकम व्यावसायिक संस्थान भएकाले टावरसम्म आफै विद्युत विस्तार गर्नुपर्ने तर्क दिदै आएको थियो भने नेपाल टेलिकम जनताको आधारभुत आवश्यकता र सेवासँग जोडिएकोले विद्युत प्राधिकरणको नै जिम्मेवारी रहेको भन्दै पन्छिएको थियो । केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले टेलिकम र विद्युत प्राधिकरण जिम्मेवारीबाट पन्छिन थालेपनि गाउँपालिकाले नै लगानी गरेर अवरुद्ध सेवा सुचारु गर्न गइरहेको बताए । गाउँपालिका अध्यक्ष शाहीले गाउँपालिकाले विद्युत विस्तार गरिसकेपछि नेपाल टेलिकमले ट्रान्समिटर उपलब्ध गराइ सहयोग गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *