(डोटी) – मेलकट्टे आमा समुहकी विमला धामी सुरुका दिन निकै अत्तालिइन् । पहिलोपटक तालिममा सहभागी भएकी विमलाका हातखुट्टा थर्थर काँपीरहेका थिए । ओठमुख सुखे । उनलाई तालिमका सहभागि सामु आफ्नो परिचय दिन जीवनकै ठुलो संकट आइपरेको महसुस भयो । करिब ४ मिनेट बोल्नै नसकेर उनी उभिइन् मात्र ।
बोगटान फूडसिल गाउँपालिकाको महिलासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत महिलाहरूको क्षमता विकास तथा सशक्तीकरण सम्बन्धी ३ दिने आवासीय तालिमको तेस्रो दिन भने विमला फररर बोलिन् । ३ दिनको तालिमले बढाएको आत्मबललाई समुह र समाज सेवामा उपयोग गर्ने प्रतिबद्धता समेत उनले गरिन् ।
विमला झै अर्की महिला थिइन्, नन्दा बूढा । उनी देवीस्थल स्वास्थ्य आमा समुहकी सदस्य हुन् । यसअघि एउटा तालिममा मात्र सहभागि भएपनि सार्वजनिक स्थलमा मनको अभिव्यक्ति कहिल्यै व्यक्त गर्न सकिनन् । मानिस अघि केही कुरा व्यक्त गर्नु पहाडले थिचेको झै भारी हुनेगरेको बताइन् । तालिमको पहिलो दिन केबल परिचय मात्र दिएर फर्केकी नन्दा दोस्रो र तेस्रो दिनमा भने मनका कुरा निर्धक्कसँग खोल्न थालिन् । उनले गाउँपालिका उपाध्यक्ष बिष्ना देउबा बम अघि गाउँका महिलाहरूलाई कुटानीपिसानी मिल नहुँदा निकै सास्ती भएको भन्दै मिलको योजना दिन प्रस्ताव समेत राख्न भ्याइन् ।

विमला, नन्दालाई झै मनिषा जोशी, गडाल आमा समुहकी कमला गड्सिला, नवदुर्गा महिला समुहकी नौसरादेवी भूल, गौड्या मसानी महिला समुहकी दिपा बिष्ट, हरियाली कृषि समुहकी चम्भादेवी कामी लगायतले पनि तालिमबाट सार्वजनिक रुपमा बोल्नका लागि आत्मबल बढेको भन्दै खुसी व्यक्त गरे । न्यायका लागि संचार नेपालको सहजिकरणमा ३ दिनसम्म आयोजित तालिमले महिलाहरूको क्षमता विकासले आफूलाई खुसी लागेको बताइन् ।
बोगटान फूडसिल गाउँपालिकाबाट महिलासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत विभिन्न गतिविधिहरू अघि बढाएको उपाध्यक्ष विष्ना बमले बताइन् । ‘म जहिल्यै के.आई.सिंह र शिखर नगरपालिकाका महिलाको क्षमता विकासबारे उदाहरण दिएर बोगटानका महिला पिछडिएकोमा ग्लानि महसुस गर्थे’, उपाध्यक्ष बमले भनिन्, ‘त्यहीँ कारण महिलाहरूको क्षमता विकासका लागि पालिकामा लडेर विभिन्न योजना बनाएर अघि बढ्दै छु ।’ उनले वडास्तरमा लैंगिक हिंसा सम्बन्धी अभिमुखीकरण, छात्राहरूलाई आधारभुत पत्रकारिता सम्बन्धी तालिम, दलित छात्रवृति बितरण, पाठेघर खसेका महिलाहरूको निशुल्क शल्यक्रिया, महिलाहरूको सहजताका लागि तीन स्थानमा कुटानी पिसानी मिल हस्तान्तरण, स्वयमसेविकाहरुलाई सम्मान लगायतका गतिविधिहरू गरिएको बताइन् । ‘त्यसबाहेक वडास्तरमा तीज तथा नारी दिवस पनि मनाइएको छ’, उपाध्यक्ष बमले भनिन्,‘ आगामी आर्थिक वर्ष पनि यसलाई निरन्तरता दिइने छ ।’

गाउँपालिका अध्यक्ष कमल गड्सिलाले महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्रगतका कृयाकलापहरू प्रभावकारी भएको भन्दै खुसी व्यक्त गरे । महिलाहरूको क्षमता विकास गरेर आगामी दिनमा गाउँपालिकाका विभिन्न विकास निर्माण कार्यमा समेत महिलाकै नेतृत्वमा गर्ने योजना रहेको बताए । महिला लक्षित गतिविधिले सयौँ दिदीबहिनी लाभान्वित भएको सिमचौर स्थित परिवर्तनशील कालिका समुहकी कोषाध्यक्ष इन्द्रा बिकले बताइन् । अझै पनि ग्रामीण भेगका महिलाहरू आफ्नो परिचय समेत दिन नसक्ने भएकाले त्यस्ता महिलाहरूको पहिचान गरेर जनचेतनामूलक कार्यक्रम ल्याउनु पर्ने बताइन् ।






प्रतिक्रिया