डोटी ।दिपायल सिलगढी नगरपालिकाले नगरपालिका अन्तरगत रहेका सबै वडाहरुमा महिलाहरुका लागि प्रजजन् स्वास्थ्य सम्बन्धी निशुल्क घुम्ती शिबिरको आयोजना गरेको छ ।
नेपाल परिवार नियोजन संघ डोटी शाखाको प्राबिधीक सहयोगमा पालिकाले बिहीबार देखि नगरपालिकाको वडा नम्बर १मा रहेको नगर स्वास्थ्य केन्द्र सिरखोलीसैन बाट शिबीरको सुरुवात गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा संयोजक तेज बहादुर खड्काले बताए ।
बिहीबार संचालन भएको निशुल्क स्वास्थ्य शिबीर बाट ६८ जना महिलाहरुले सेवा लिएका छन् जसमा १० जनाले भिडीयो एक्सरे २२ जनाको आङ खसेका महिलाहरुको उपचार तथा स्क्रिनिङ, पाठेघरको मुखको सम्भाबित क्यान्सर सम्बन्धी जाँच गरिएको थियो भने अन्यले स्वास्थ्य परिक्षण सेवा लिएका हुन् । सेवा लिएका मध्य ४ जना महिलाहरुको आङ खस्ने समस्या देखिएकाले थप उपचारको लागि जिल्लामा सिफारीस गरिएको समेत स्वास्थ्य संयोजक खड्काले बताए ।
शिबीरमा फिष्टुला, आङ खसेका महिलाहरुको उपचार तथा स्क्रिनिङ, पाठेघरको मुखको सम्भाबित क्यान्सर सम्बन्धी जाँच, परिवार नियोजनको लामो अबधिको अस्थायी साधन सेवा, यौन रोगको उपचार तथा परामर्श, गर्भती महिलाहरुका लागि भिडीयो एक्सरे, महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी बितरण गरिने पालिकाले जनाएको छ ।
नगरपालिकाले सार्बजनिक गरेको कार्यतालिका अनुसार जेठ ४ गते नगर स्वास्थ्य केन्द्र सिरखोलीसैन, ५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र दिपायल, ६ गते लडागडा स्वास्थ्य चौकी, ७ गते तिखा स्वास्थ्य चौकी, ८ गते खातिवडा स्वास्थ्य चौकी, ९ गते नगर स्वास्थ्य केन्द्र बाफी, १० गते नगर स्वास्थ्य केन्द्र नारिदाङ, ११ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र पाकरी, १२ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र बागठाटा र १४ गते कलेना स्वास्थ्य चौकी कलेनामा घुम्ती शिबीर संचालन गरिने समेत स्वास्थ्य शाखा संयोजक खड्काले बताए ।






प्रतिक्रिया