राज्यको पुर्नसंरचना भएको लामो समय वितिसक्दा पनि स्थानीय तहहरुमा कर्मचारीको अभाव टरेको छैन् ।
डोटी जिल्लाका ६५ वटा वडामध्ये ३३ वटा वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवबिहिन छ । ६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । उनले भने ‘वडा सचिवहरु नभएपनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीहरुले सेवा दिईरहेका छन् ।’
डोटीको सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिका ४ वटा वडामा वडा सचिव छैनन् । ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवबिहिन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले सचिब नभएका वडाहरुमा पालिकाका प्राविधिक र करारका कर्मचारीहरुले सेवा दिईरहेको समेत बताउनु भयो ।
त्यस्तै, ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वटा वडामा सचिब छैनन् । वडामा सचिव पद रिक्त हुँदा एउटै व्यक्तिले दुई वडा हेर्नु पर्ने वाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार वडा नम्बर वडामा १ र २ मा १ जना, ४ र ६ मा १ जना ५ र ७ मा १ जना र ८ र ९ मा १ जनाले हेरेर कामकाज संचालन गरिरहेका बताउनु भयो ।
बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन् । ५ वडा रहेको यस गाउँपालिकामा ३ वटा वडा सचिवबिहिन छन् । वडा नम्बर १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताउनु भयो । वडा सचिब नभएका वडाहरुमा अन्य कर्मचारीहरुबाट कार्य संचालन भईरहेको समेत उहाँले जानकारी दिनु भयो ।
६ वडा रहेको जोरायल गाउँपालिकामा पनि २ वटा वडामा वडा सचिव छैनन् । वडा नम्बर ३ र ६ मा सचिवको दरवन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज भट्टले जानकारी दिनु भयो । वडा सचिव नभएका वडाहरुमा अन्य कर्मचारीहरुबाट कार्य संचालन भईरहेको समेत भट्टले बताउनु भयो ।
बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वडा रहेको यस गाउँपालिकामा नम्बर ३ मा मात्र वडा सचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले बताउनु भयो । वडा सचिव नभएका वडाहरुमा अन्य प्राविधिक र करारका कर्मचारीहरुले काम गरिरहेका समेत चन्दले बताउनु भयो ।
त्यस्तै, ७ वडा रहेको केआई सिंह गाउँपालिकामा पनि २ वटा वडा सचिवबिहिन छन् । वडा नम्बर १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिनु भयो । वडा सचिब नभएका दुई वडामा सलेपा र आलेपले दैनिक कार्य सञ्चालन गरिरहेको समेत परियारले बताउनु भयो ।
पुर्विचौकी गाउँपालिकामा पनि आवश्यकता अनुसार वडा सचिवहरु छैनन् । ७ वडा रहेको यस पालिकाका ३ वटा वडामा सचिवको दरवन्दी रिक्त छ । सचिव नहुँदा वडा नम्बर ३ र ७ मा एक जनाले हेरिरहेका छन भने २ र ६ मा वडा सचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीहरुले काम चलाइरहेका पालिकाले जनाएको छ ।
७ वडा रहेको आदर्श गाउँपालिकामा पनि ३ वटा वडा सचिवबिहिन रहेका छन् । वडा नम्बर ३, ५ र ७ मा वडा सचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताउनु भयो । वडा सचिव नभएका वडाहरुमा प्राविधिक र अन्य कर्मचारीहरुले सेवा दिईरहेका समेत ओझाले जानकारी दिनु भयो ।
पालिकामा कर्मचारी अभाव भएपनि पालिकामा रिक्त रहेका दरवन्दी अनुसारका कर्मचारीहरु लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हिरालाल चौधरीले बताउनु भयो । प्रदेशका ८८ वटा स्थानीय तहहरुमध्ये ३९,४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाई छ । कर्मचारी अभाव भए नभएको आफुहरु लाई थाहा नहुने भन्दै चौधरीले अगाडि भन्नु भयो ‘हामीले स्थानीय तहको माग अनुसार मात्र बिज्ञापन खोल्ने गरेका छौं ।’
वडा सचिव मात्र हैन, जिल्लाका स्थानीय तहहरुमा अन्य पदहरुमा पनि दरबन्दी अनुसारका कर्मचारी छैनन् ।
डोटीका ३३ वडामा छैनन् वडा सचिव

प्रतिक्रिया