डोटी ।हेल्थ असिस्टेन्ट संघ डोटीले डोटीका प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे ज्ञापन पत्र बुझाएको छ ।
हेल्थ असिस्टेन्टको सेवा सुविधामा एकरुपता ल्याउनु पर्ने र नियम संगत नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्ने लगाएतका माग राख्दै आईतबार डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाएको हो ।
हेल्थ असिस्टेन्ट संघ डोटीका अध्यक्ष कुबेर खड्काद्वारा हस्ताक्षर ज्ञापन पत्रमा स्थानीय सरकार एवं सरोकारवाला निकायले सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि दबाबमा परेर पेशागत मर्यादा र पदीय जिम्मेवारीमा आँच आउने गरेर मनोमानी ढङ्गले कर्मचारी नियुक्ति गर्ने गरेको उल्लेख गरेको छ । दरबन्दी संरचना तथा हेल्थ असिस्टेन्टको सेवा सुविधामा एकरूपता नभएको प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ,झयसले शैक्षिक योग्यता, स्वास्थ्य सेवा ऐन नियमावली तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐनको अवमूल्यन हुने संघको ठहर छ । करार कर्मचारीको संरचना, दरबन्दी र सेवा सुविधा नियमानुसार नहुनु भनेको दीर्घकालीन समयसम्म स्वास्थ्य सेवालाई धराशायी बनाई नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक मौलिक अधिकार समेत प्रभावित हुने देखिन्छ ।
हेल्थ असिस्टेन्ट स्वास्थ्य सेवाको महत्वपूर्ण र संवेदनशील जग भएको उल्लेख गर्दै पाँचौँ तहका कर्मचारी नियुक्त गर्दा तथा सेवा सुविधा दिँदा नियम संगत गर्न माग गरिएको छ । आफ्ना मागहरू पूरा नभए संघ आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । संघले जिल्ला अस्पतालमा समेत नियम विपरीत स्वास्थ्यकर्मी भर्ना गरिएको जनाउँदै विरोध छानबिन गर्न माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले तत्काल नियम अनुसार कार्यान्वयन गर्न जोड दिने बताए । मागका बारेमा बुझेर जुन जुन ठाउँमा नियम विपरीत भएको छ सबैलाई पत्राचार गरेर कार्यान्वयन गर्न पहल गर्ने बताएका थिए ।
प्रतिक्रिया