डोटी– के.आई.सिंह गाउँपालिकामा शनिबार कृषि मेला प्रर्दशनी भएको छ । गाउँपालिका अन्तर्गतका किसानहरूले आफ्ना बारीमा उत्पादन गरेका कृषिजन्य बस्तुहरू प्रर्दशनीका लागि कृषि मेलामा ल्याएका थिए ।
के.आई.सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख यज्ञ बहादुर रावलले मेलामा कृषिजन्य बस्तु उत्पादन गर्ने उत्कृष्ट किसानहरूलाई पुरस्कृत समेत गरेको बताए । ‘ कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई प्रदर्शन मार्फत प्रचार प्रसार गर्ने तथा कृषि पेशा तिर उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो’, कृषि शाखा प्रमुख रावलले भने, ‘एकअर्काबाट कृषिसम्बन्धी सीपको आदानप्रदान पनि होस भनेर गाउँपालिकाले वर्षेनी कृषि मेलाको आयोजना गर्दै आएको छ ।’
शनिबार प्रदर्शनीमा राखिएको कृषि मेला देखेर किसानहरू हर्षित भएका थिए । विभिन्न वडाका ७७ जना किसानहरूले सहभागिता जनाएका थिए । प्रदर्शनीमा उत्कृष्ट किसान समूहमध्ये प्रथमलाई एक हजार पाँच सय, दोस्रोलाई एक हजार दुई सय, तेस्रोलाई एक हजार तथा सान्त्वनालाई पाँच सय नगद पुरस्कार दिइएको थियो । २८ जना किसानहरू पुरस्कृत भएका थिए ।
प्रतिक्रिया