दिपायल- कैलालीबाट डोटी आएका बालकमा दादुरा देखिए पछि स्वास्थ्य संस्थाले संक्रमितको खोजी गर्न थालेको छ । जिल्लाको केआइसिंह गाउँपालिका–४ चन्केसैन गाउँ र उक्त वडामा दादुराको लक्षण भएका व्यक्तिहरुको खोजी गर्न थालिएको हो ।
कैलालीको गौरीगंगा निवासी १८ महिने बालक तीन साता अघि डोटी स्थित आफन्तको घरमा आएका थिए । उनमा दादुराको लक्षण देखिए पछि दुर्गामाण्डौं स्वास्थ्य चौकीले पुस २९ गते रगतको नमुना लिएको थियो । स्वास्थ्य चौकीले नमुना परिक्षणका लागि धनगढी पठाइएको थियो ।
धनगढी पठाएको नमुना परीक्षण गर्दा आइतबार दादुरा पुष्टि भएको केआइसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नविन माझीले बताए । “दादुराको रिपोर्ट पोजेटिभ आए पछि हामीले बालकको खोजि गरेउँ,“उनले शिखर समाचारसँग भने,“ बालक माग १ गते नै कैलाली फर्किसकेका रहेछन् ।
बालकमा दादुरा पुष्टि भए पछि बालक बसेको घर वरपर र छरछिमेकमा बिरामीको खोजि भइरहेको स्वास्थ्य शाखा संयोजक माझीले बताए । “दादुरा सरुवा रोग भएका कारण अन्य बालबालिकमा पनि लक्षण देखिएको छ की भनेर निगरानी बढाएका छौं,“हाल सम्म त्यस्तो लक्षण कसैमा देखिएको छैन, उनले भने । उनका अनुसार बालकले दादुरा बिरुद्धको खोप पनि लगाइसकेका थिए ।
कैलालीबाट डोटी आएका बालकमा दादुरा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्ली रमण जोशीले बताए । हालसम्म उनी बाहेक अन्य व्यक्तिमा त्यस्तो लक्षण देखिएको छैन । दादुरा देखिएको समुदायमा निगरानी राख्न भनेका छौं, उनले शिखर समाचारसँग भने ।
आइतबारको परीक्षणमा कैलालीका दुई जना वालकमा दादुरा पुष्टि भएको थियो ।
प्रतिक्रिया