डोटी- कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसहितका दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ सरकार गठनबारे चर्चा सुरु भएको छ। केन्द्रमा राजनीतिक नयाँ समीकरण भएसँगै सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादीका नेताहरू मुख्यमन्त्री बन्ने लाइनमा देखिएका हुन्। प्रदेश सभामा दोस्रो ठुलो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरूले मुख्यमन्त्रीमा आ–आफ्नै दाबी गरिरहेका छन्।
माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी यसअघिकै गठबन्धनमा पनि थियो। अहिले पनि कायमै रहेको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सव बताउँछन्। ‘सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा माओवादी नै ठुलो दल भएकाले मुख्यमन्त्रीका लागि हाम्रो दाबी रहन्छ नै तर केन्द्रबाटै प्रदेशहरुको समीकरण कस्तो बन्छ सोहिअनुरुप पनि अगाडी बढ्नुपर्ने अवस्था आउन सक्छ।’
प्रदेश सभामा निर्वाचित माओवादीका ११ सासंदमध्ये धेरैले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्। प्रदेशमा नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरी २९ प्रदेश सभा सदस्य छन्। प्रदेश सरकारको आगामी नेतृत्व माओवादी वा एमाले कसले गर्ला भन्ने विषयमा चासो बढेको छ। गठबन्धनको शीर्ष तहमा हुने समझदारी र भागबण्डाका आधारमा आगामी नेतृत्वबारे अन्तिम टुंगो लाग्ने भए पनि दुवै दलका नेताहरुले मुख्यमन्त्रीका लागि आन्तरिक कसरत गरिरहेका हुन्।
एमालेबाट राजेन्द्रसिंह रावल, सन्तोष शर्मा थापा र धर्मराज पाठक तथा माओवादीबाट खगराज भट्ट र अक्कल रावल मुख्यमन्त्रीका दाबेदार रहेको दुबै पार्टीभित्र चर्चा छ। एमालेको दाबी मुख्यमन्त्रीमा भएको नेकपा एमाले कैलालीका निमिक्त अध्यक्ष दुर्गा जोशीले बताए। ‘यो विषयलाई सहमति गरेर अन्तिम रुप दिइनेछ। हामीले भन्दा केन्द्रबाटै यसको छिनोफानो हुने भएकाले एमाले वा माओवादी अहिले नै ठोकुवा गरेर भन्न सकिदैँन।’ उनले भने।
माओवादीबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार छन्। गठबन्धन भएपनि प्रदेशमा एमालेभन्दा माओवादी ठुलो पार्टी भएकाले माओवादीले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको हो। एमालेले भने पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावललाई मुख्यमन्त्रीका लागि अघि सारेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ। एमाले र माओवादी मात्र मिल्दा बहुमत पुग्दैन्। नागरिक उन्मुक्ति र राप्रपाले समर्थन गर्ने भएकाले नयाँ गठबन्धनको पक्षमा २९ जना प्रदेशसभा सदस्य हुनेछन्।
केन्द्रमा राजनीतिक समीकरणमा फेरबदल आएसँगै प्रदेशमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने देखिएको हो। एमालेले प्रत्यक्षमा तीन सिट मात्र जितेको छ। नवनिर्वाचित सांसदका लागि यही पौष १५ गते शपथग्रहण कार्यक्रम तय गरिएको छ। शपथग्रहणसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया