एचआइभी सङ्क्रमित एकल महिलालाई घरखर्च चलाउनै सकस

पाँजलो न्युज
३ पुष २०७९ ७:११
एचआइभी सङ्क्रमित एकल महिलालाई घरखर्च चलाउनै सकस

डोटी :डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआइभी सङ्क्रमण भएको १० वर्ष भयो । एचआइभीरएड्सकै कारण श्रीमानको मृत्यु पश्चात् घरमा हातमुख जोर्न समस्या भएपछि दुई वर्ष पहिला आफ्नो १५ वर्षीय छोरालाई काम गर्न भारत पठाउनुभयो । लामो समयसम्म भारतमा काम गर्दै आउनुभएका श्रीमानको एचआइभीरएड्सकै कारण ज्यान गएपछि तीन छोराछोरीको पालनमा आर्थिक समस्या पर्न थाल्यो । आर्थिक अभावकै कारण ७ कक्षा पढ्दैगरेको छोरालाई छिमेकीहरूसँगै भारत पठाउनुपरेको दुर्गाले बताउनुभयो ।
भारतको एक होटेलमा काम गर्दैगरेको छोराले पठाएको रकमबाट घरमा जोडेको बिजुलीतर्फ देखाउँदै दुर्गाले भन्नुभयो, ‘श्रीमानको मृत्युपछि घर खर्चको समस्या भयो त्यसैमा आफू पनि बिरामी भइरहने, घरमा भोकै मर्नुभन्दा भारत गएपछि पेटभरी खान त पाउँछ भनेर काम गर्न पठाएँ । दुई वर्षपछि २५ हजार रुपियाँ घर पठाएको थियो । त्यही पैसाले घरमा बिजुली जोडेँ ।’
आर्थिक अभावका कारण समस्या झेलिरहनु भएकी दुर्गा मात्र हुनु हुन्न, घरमा नियमित रूपमा आम्दानी गर्दैगरेका श्रीमानको मृत्यु भएपछि डोटी जिल्लाका एचआइभी सङ्क्रमित एकल महिलालाई आर्थिक समस्या पर्नेगरेको छ । एचआइभी सङ्क्रमितले दैनिक एआरभी औषधी सेवन गर्नुपर्ने हुन्छ ।
दुई महिनामा एक पटक डोटी जिल्ला अस्पताल एआरटी सेन्टरबाट औषधी लिन आउँदा गाडी भाडा तिर्न समेत समस्या हुने गरेको डोटीको सायल गाउँपालिकाकी एचआइभी सङ्क्रमित एकल महिला धना साउँद ९नाम परिवर्तन० ले बताउनुभयो । साउँदले भन्नुभयो, ‘डाक्टरले औषधीसँगै पौष्टिक खाना खानु भन्छन् हामीले भोको पेटमा औषधी खानुपर्ने बाध्यता छ ।’
एचआइभी सङ्क्रमित एकल महिलाको आय–आर्जन हुने किसिमका कार्यक्रममा सरकारी स्तरबाट प्राथमिकता नदिएको गुनासो एचआइभी सङ्क्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाज डोटीकी अध्यक्ष कमला मल्लको छ । अध्यक्ष मल्लले भन्नुभयो, ‘एचआइभी नियमित रूपमा औषधी सेवन गरेर स्वास्थ्य राम्रै भएको भए पनि न्यून आय भएका एचआइभी सङ्क्रमित महिलाका लागि भनेर छुट्टै कार्यक्रम सरकारी स्तरबाट आउन सकेको छैन । एकल महिलाभित्र एचआइभी सङ्क्रमित एकल महिलाहरू बढी पीडामा छन् । राज्य पक्षवाट उहाँहरूको पीडा सम्बोधन हुनुपर्छ ।’
कामका लागि भारतमा जाने पुरुषहरूले गर्ने असुरक्षित यौन सम्पर्क कारण एचआइभी सङ्क्रमण हुनेगरेको यस क्षेत्रमा राष्ट्रिय एचआइभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र ९एनसिएएससी० लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले गरेको अध्ययनले देखाएको छ । अधिकांश महिलामा एचआइभी सङ्क्रमित श्रीमानबाटै भएको छ ।
डोटी जिल्ला अस्पताल एआरटी सेन्टरमा रहेको तथ्यांकअनुसार डोटी जिल्लामा हालसम्म १ हजार ८३ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ । हाल ४ सय ९२ जनाले नियमित एआरभी औषधी सेवन गरिरहेकोमा १ सय ९९ जना एचआइभी सङ्क्रमित एकल महिला रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *